सुकुम्बासी बस्तीमा उज्यालो छाउँदै

Posted on: 24 Jun, 2020

असार १०, राँझा। ऐलानी जमीनमा घर भएका कारण विद्युत् सुविधा नभएको नेपालगञ्ज उपमहानगरपालिकाको सुकुम्बासी बस्तीमा सौर्य ऊर्जामार्फत उज्यालो कार्यक्रम सञ्चालन गरिएको छ । नेपालगञ्ज–१८ स्थित शान्तिनगर टोलको नयाँबस्तीमा बसोबास गर्दै आएका विपन्न समुदायमा वडा कार्यालयमार्फत सोलार प्यानल वितरण गरी उज्यालो कार्यक्रम थालिएको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, तराई–मधेश समृद्धि विकास कार्यक्रममार्र्फत गरीब, मधेसी, मुसलमान तथा पिछडिएको क्षेत्रमा वैकल्पिक ऊर्जाको योजना बनाएर प्यानल वितरण गरिएको वडाध्यक्ष दीपक बर्माले बताउनुभयो ।  उहाँका अनुसार बस्तीका ५४ घरपरिवारलाई पुग्ने गरी  प्यानल वितरण भइसकेको छ । कार्यक्रमअन्तर्गत २५९ प्यानल जडान गर्ने वडा कार्यालयको योजना  छ । यहाँका बासिन्दासँग लालपूर्जा नहुँदा बत्तीको मिटर राख्न सकेका छैनन् । विसं २०६०मा सुर्खेत, दैलेखलगायत विभिन्न जिल्लाबाट आएर नयाँबस्तीमा बसेका घरपरिवारलाई प्यानल दिइएको हो ।

“विपन्न समुदायको बस्ती भएकाले नागरिकहरु अहिले पनि अँध्यारोमा बस्न बाध्य छन् । नगरभित्रैको बस्तीका बासिन्दा अँध्यारोमा बस्न नपरोस् भनेर सोलार  प्यानल सहयोग गरिएको हो”, वडाध्यक्ष वर्माले भन्नुभयो, “अब सुकुम्वासी बस्तीमा पनि अँध्यारो हटेर उज्यालो छाउँदैछ । वितरण गरिएको सोलारबाट पाँच वटा बत्ती र एउटा पङ्खा चल्ने क्षमता रहेको छ ।”

तराई–मधेस समृद्धि विकास कार्यक्रममार्र्फत प्राप्त रु ४५ लाख बजेटबाट प्यानल वितरण कार्यक्रम भइरहेको वडाध्यक्ष वर्माले जानकारी दिनुभयो । स्थानीयवासी धनबहादुर बिटालुले ऐलानी जग्गामा घर भएका कारण धेरैले विद्युत्को मिटर नपाउँदा अँध्यारोमा बस्न बाध्य भएका अवस्थामा प्यानल वितरणले बस्ती उज्यालो भएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका परिवारले प्यानल पाएपछि बस्तीमा उज्यालोसँगै खुशीयाली छाएको उहाँको भनाइ छ । रासस  


यस बिषयमा तपाइको प्रतिक्रिया...!