बाजुरामा रुघाखोकीले तीन सय परिवार प्रभावित

Posted on: 01 Apr, 2020

 चैत १९, मार्तडी । बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जनासम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताउनुभयो । 

सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित  हुनेजस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताउनुभयो । परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छाडेको छ । लकडाउनको समयमा पुडाबाब्ला रुघाखोकीको प्रकोपका कारण थला परेको छ । प्रत्येक घरमा बालबालिकादेखि वृद्धवृद्धा सबै बिरामी परेपछि पानी बोकेर ल्याइदिने मान्छेको समेत अभाव छ । 

गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले मौसम परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।  बिरामीमध्ये अधिकांश सामान्य अवस्थाका भए पनि केहीलाई गाह्रो भएको अवस्था छ । गाउँ नै रुघाखोकीको सङ्क्रमणले थला परेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर गाउँमै आधारभूत स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ । 

खाद्यान्न अपुग नहुने  

कोभिड–१९ को सङ्क्रमणका बेला बाजुरामा खाद्यान्न अपुग नहुने खाद्य तथा गुणस्तर व्यापार कम्पनी बाजुराले जनाएको छ । जिल्लामा खाद्यवस्तु अर्थात् चामलको अभाव नहुने खाद्य तथा गुणस्तर व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताउनुभयो । 

सदरमुकाम मार्तडीमा रहेको खाद्य संस्थानमा हाल ७०५ क्विन्टल चामल बिक्री नभएको शाखा प्रमुख ओझाले राससलाई जानकारी दिनुभयो । खाद्य कम्पनीमार्फत बिक्री हुने हिमाली गाउँपालिकाको कवाडीमा समेत खाद्यान्न अभाव नहुने गरी ढुवानी गरिएको प्रमुख ओझाले बताउनुभयो । 

सरकारले गरेको लकडाउनलाई ध्यानमा राख्दै बिहान ११ देखि ३ बजेसम्ममा मात्र खाद्य तथा व्यापार कम्पनी शाखा खुला गरी खाद्यान्न बिक्री गर्ने गरेको प्रमुख  जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभयो ।

पूर्वीउत्तरी भेगको कोल्टी खाद्य तथा गुणस्तर कम्पनीमा चार दिनदेखि खाद्य अभाव भएको समाचार भ्रामक रहेको खाद्य तथा व्यापार कम्पनी कोल्टी शाखाका प्रमुख नवीनप्रसाद आचार्यले आपत्ति जनाउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!