भागरथी हत्या प्रकरण : आरोपित दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति

Posted on: 17 Feb, 2021

फागुन ५ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टलाई जबरजस्ती करणीपछि हत्या गरेको अभियोगमा पक्राउ परेका सोहि ठाउँका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत बैतडीले अनुमति दिएको छ । 

जबरजस्ती करणीपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेशलाई अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको प्रहरीले जनाएको छ । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलनमा गरी सार्वजनिक गरिएको थियो । 

गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भागरथी माघ २२ गते दिउँसो सोही ठाउँस्थित लडालेक भन्ने लबलेक जंगल सडक छेउमा मृत फेला परेकी थिइन् । उनको टाउकोमा चोट, घाँटीमा दबाए जस्तो डाम, खुट्टाको औंलामा निल डाम घाउ भेटिएको थियो ।

प्रहरीका अनुसार उक्त घटनाको सुक्ष्म अनुसन्धानको क्रममा सोही स्कुलमा अध्ययन गर्ने अभियुक्त अन्तिम कक्षा नपढी साथीहरुसँग खोचलेकतर्फ गएका थिए । साथीहरुलाई खोचलेक बजारमै छोडी आफू एक्लै खोचलेक बजारबाट चडेपानीस्थित आफ्नो घरतर्फ हिड्नेक्रममा भागरथीलाई मार्ने उद्देश्यले घटनास्थल माथि रहेको सडकमा कुरी बसेको बयान दिएको प्रहरीको दाबि छ । 

उनले दिएको बयान अनुसार भागरथी आई पुगेपछि सडक भन्दा तलतर्फ धकेली दिई हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!