बैतडीमा वडाध्यक्षमाथि कुटपिट

Posted on: 30 Mar, 2020

चैत १७, बैतडी | पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐर माथि  कुटपिट भएको छ । उहाँमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले मदिरा सेवन गरी  आइतबार कुटपिट गरेको  प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । वडाध्यक्ष ऐरको अवस्था सामान्य रहेको छ । 

यसअघि यही चैत १२ गते राती पुर्चौडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी माथि  स्थानीय नरेन्द्र जागरीले कुटपिट गरेका थिए ।  

यसैबीच कोरोनाको भाइरसको सम्भावित जोखिम रोकथाम गर्न किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किन शुरु गरिएको छ ।  दशरथचन्द नगरपालिकाको समन्वयमा शुरु भएको अभियानमा पहिलो आइतबार  सदरमुकास्थित गढी र गोठलापानीमा औषधि छर्किएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

 जिल्ला प्रशासन कार्यालयको पहलमा शुरु भएको अभियान अन्तर्गत जिल्लाका भीडभाड हुने सबै बजारहरुमा स्प्रे गरिने जनाइएको छ । औषधि दशरथचन्द नगरपालिकाको दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले छर्किएको हो । 

शाहिलेक लगायतका अन्य बजारमा आज किटनाशक औषधि छर्किने प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो  । अत्यावश्यक काम बाहेक घर  बाहिर ननिस्कन उहाँले आह्वान समेत गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!