हावाहुरीले विद्यालयको छाना उडायो, २ लाख ५० हजारको क्षति

Posted on: 09 Jun, 2019


जेठ २६ , बैतडी |शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिनुभयो ।

टिनको छाना उडाउँदा भित्र रहेका २६ बोरा सिमेन्ट, डेस्कबेन्चलगायत अन्य शैक्षिक सामग्री पनि भिजेर नष्ट भएको उहाँले बताउनुभयो । कक्षा १, २ र ३ को कक्षाकोठा रहेका भवनको छाना उडाउँदा पठनपाठनसमेत प्रभावित भएको विद्यालयले जनाएको छ । विसं २०१८ मा स्थापना भएको उक्त विद्यालयमा हाल ३०५ विद्यार्थी अध्ययनरत छन् ।  कक्षा १० सम्म पढाइ हुने सिद्धेश्वर मावि हुक्केडाँडा बैतडीकै नमूनाउन्मुख विद्यालय हो । यस्तै हावाहुरीले नै पाटन नगरपालिका–८ खोडपेमा रहेको भगवती महिला बहुउद्देश्यीय कृषि सहकारी संस्थाको दुईकोठे टिनको छाना पनि उडाएको छ ।  साथै पाटनकै दलबहादुर विष्ट र गोपालसिंह महराको घरको छाना पनि हावाहुरीले उडाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!