तीन स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेनन्

Posted on: 29 Jun, 2019

असार १४, बैतडी | स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । तर, बैतडीका तीन नगरपालिकाले अझै अगामी आर्थिक वर्ष २०७६ -७७ का लागि नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेका छैनन् ।  

कानून अनुसार गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असारको १० गतेभित्र आगामी आवको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा-नगरसभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । तर, दशरथचन्द, पाटन र पुर्चौडी नगरपालिकाले बजेट सार्वजनिक गर्न सकेका छैनन् ।   

तयारी नपुगेकोले असार १० मा बजेट ल्याउन नसकेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो । आज नगरकार्यपालिकाको बैठक रहेको र आइतबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने उहाँले बताउनुभयो । पाटन नगरपालिकामा पनि आइतबारसम्म बजेट सार्वजनिक गर्ने तयारी भएको नगरउपप्रमुख सरस्वती कोलीले जानकारी दिनुभयो ।

यस्तै पुर्चौडी नगरपालिकाले असार २० गतेपछि मात्रै आगामी वर्षको बजेट सार्वजनिक हुने जनाएको छ । वडास्तरमा योजना तर्जुमा काम नसकिएको, टोल, बस्ती भेला जारी रहेकोले एक हप्ता अझै लाग्ने नगरप्रमुख रणबहादुर कुँवरले बताउनुभयो ।  

जिल्लाका १० मध्ये सात स्थानीय तहले यसअघि बजेट प्रस्तुत गरिसकेका छन् । मेलौली नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाले  बजेट सार्वजनिक गरिसकेका हुन् । 

डिलाशैनी गाउँपालिकाले रु ४६ करोड ६२ लाख ४२ हजार , मेलौली नगरपालिकामा रु ३७ करोड ६५ लाख ८९ हजार, शिवनाथ गाउँपालिकाले रु २८ करोड ७९ लाख १५ हजार ७९२  को बजेट सार्वजनिक गरिसकेकोे छ । 

यस्तै दोगडाकेदार गाउँपालिकाले रु ४७ करोड पाँच लाख ९३ हजार , सिगास गाउँपालिकाले ४१ करोड ६६ लाख २३ हजार, सुर्नया गाउँपालिकाको रु ३१ करोड र पञ्चेश्वर गाउँपालिकाले रु ३३ करोड ४४ लाख ५० हजारको बजेट प्रस्तुत गरेको छ । बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!