बैतडीका तीनवटै वडामा मतदान जारी

Posted on: 30 Nov, 2019

मङ्सिर १४, बैतडी | उपनिर्वाचन हुने बैतडीका तीनवटै वडामा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । बिहान साँढे ८ बजेसम्म ४३७ जनाले मतदान गरेका निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । उपनिर्वाचन हुने तीन वडामा कूल चार हजार ३३६ मतदाता रहेका छन् ।

उपनिर्वाचनका लागि छ मतदानकेन्द्र तोकिएका छन् । दोगडाकेदार गाउँपालिका–४ को केदार मावि पिपलकोटमा क र खमा गरी एक हजार २२९, हुनैनाथ आधारभूत विद्यालय कपिन्नामा ५७९ र सुर्नया गाउँपालिका–१ को साविकको गाविस भवन गुर्केलीमा ६१९ मतदाता छन् । पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबोमा ८६५, पहरौल मावि बाङ्गामा एक हजार ४४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित करीब ४०० जनशक्ति परिचालन गरिएको छ ।  उपनिर्वाचन हुने जिल्लाको दोगडाकेदार–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा  ३०० बढी सुरक्षाकर्मी र ५४ कर्मचारी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । तीन वडामा छ मतदान केन्द्र तोकिएकामा प्रत्येक मतदान केन्द्रमा नौ कर्मचारी र ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।  मतदानकेन्द्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!