बागलुङ : योजना छान्दै वडा

Posted on: 13 Jun, 2019

जेठ ३०, बागलुङ । काठेखोला गाउँपालिका–५ ले बुधबार वडा सभा ग¥यो । सभाबाट नयाँ आर्थिक वर्षका लागि १५ योजना प्राथमिकीकरणमा परे । “योजना तर्जुमाका लागि टोल–टोलमा पुगेर भेला गर्यौं”, वडाध्यक्ष शिव कँडेलले भन्नुभयो, “माग धेरै आए पनि आवश्यकताका आधारमा योजना छनोट भएका छन् ।”

टोलवासीबाट २०० भन्दा बढी योजनाको माग आएको थियो । सबैभन्दा बढी सडक र घोरेटो बाटाका थिए । योजना छनोट गर्दा स्वस्थ खानेपानी र शिक्षालाई बढी जोड दिइएको वडाध्यक्ष कँडेलको भनाइ छ । अघिल्लो वर्षको तुलनामा सडक कम महत्वमा छ ।

वडा नं १ ले पनि टोलस्तरमा पुगेर योजना माग गरेको वडाध्यक्ष खडक थापाले बताउनुभयो । “शुक्रबार वडामा छलफल गरेर योजनाको प्राथमिकता निर्धारण गर्छौं”, उहाँले भन्नुभयो । नागरिकका माग सडक, खानेपानी, शिक्षालगायतमा बढी केन्द्रित छन् ।

गाउँपालिकाले वडालाई रु ४० लाख बराबरको बजेट÷कार्यक्रम बनाउन भनेको छ । गाउँपालिकाबाट रु एक करोड बराबरका योजना वडामा सञ्चालन हुनेछन् । वडाबाट लक्षित वर्गतर्फ पनि योजना माग गरिएको छ । 

बागलुङ नगरपालिकाका वडा पनि यतिबेला योजना छनोटमा व्यस्त छन् । अघिल्ला योजनाको समीक्षासँगै आउँदो आवका लागि योजना तर्जुमाको काम भइरहेको छ । वडा भेलामा ३०० भन्दा बढी योजनाको माग आएको वडा नं ४ का अध्यक्ष धुव्र केसीले बताउनुभयो ।

“सबैभन्दा बढी सडकका माग छन्”, उहाँले भन्नुभयो, “उपभोक्तालाई लिखितरुपमा माग ल्याउन भनेका छौँ ।” वडा नंं ४ ले दुई ठाउँमा वडा भेला राखेर योजना माग गरेको थियो । राय, परामर्श र आवश्यकताका आधारमा योजना छनोट गर्ने तयारी वडाको छ ।

वडाबाट छानिएका योजना पालिकामा रहेका विषयगत समितिमा पुग्नेछन् । समितिबाट अनुमोदनका लागि कार्यपालिमामा पुग्छन् । कार्यपालिकाले अनुमोदन गरेपछि गाउँसभाबाट योजना पारित हुन्छन् ।

आर्थिक वर्ष सकिनै लाग्दा स्थानीय तह नीति, कार्यक्रम र बजेटको तयारीमा छन् । सरकारले बजेटसँगै स्थानीय तहका लागि दिने अनुदान तोकेपछि बजेट निर्माणको चटारो बढेको हो । असार १० गते काठेखोला गाउँपालिकाको बजेट आउने गाउँपालिका अध्यक्ष अम्मर थापाले बताउनुभयो ।

बजेटअघि असार पहिलो साता गाउँसभा आह्वान गरिएको छ । “वडा र बस्तीस्तरमा योजना तर्जुमाको काम भइरहेको छ”, अध्यक्ष थापाले भन्नुभयो, “छनोटमा परेका योजना गाउँसभाबाट पारित भई बजेट÷कार्यक्रममा समावेश हुन्छन् ।” 

पछिल्लो समय गाउँबस्तीबाटै योजना सङ्कलन हुन थालेपछि विकासका काममा नागरिक सहभागिता बढ्दो छ । जिल्लाका दश स्थानीय तहमा ८५ वडा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!