भालुवाङले प्रदेशको साझा प्रतिनिधित्व गर्छ: मुख्यमन्त्री

Posted on: 06 Oct, 2020

असोज २०, बुटवल | प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावित राजधानी अर्घाखाँची र दाङ क्षेत्रलाई समेटेर प्रस्तावित भालुवाङ क्षेत्रले सिङ्गो प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी दाङ जिल्ला मात्रै नभएर लुम्बिनी र राप्ती अञ्चलको मनोविज्ञानलाई जोड्ने स्थानमा प्रस्ताव गरिएको स्पष्ट पार्नुभयो । प्रदेशको राजधानी प्रस्तावित क्षेत्र राप्ती नदीले चर्चेको किनारले साबिक लुम्बिनी र राप्ती अञ्चल छोएको जानकारी दिँदै भन्नुभयो, “यसले भेरीका बाँके र बर्दियाको मनोभाव र विकासलाई समेत समेट्छ ।”

मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी र नामकरणको प्रस्ताव संसद्ले गठन गरेको विशेष समितिको सिफारिसकै आधारमा गरिएको समेत स्पष्ट पार्नुभयो । उहाँले प्रदेशका १२ जिल्लाका जनताको विकास र समृद्धिको चाहनाअनुरुप सरकारले प्रस्ताव ल्याएको समेत बताउनुभयो । मुख्यमन्त्री पोखरेलले कहाँ राजधानी बनाउने होइन कस्तो राजधानी बनाउने भन्ने कुरामा आधारमा राजधानीको प्रस्ताव गरिएको बताउँदै भन्नुभयो, “प्रदेश ५ समृद्ध बनाउन सक्दा मुलुक नै समृद्ध बन्ने छ ।”

मुख्यमन्त्री पोखरेलले नमूना व्यवस्थित शहर बनाउने योजनाअनुसार प्रदेश राजधानी तोकिएको बताउनुभयो । “सुदूरपश्चिम प्रदेशमा बाहेक अन्य प्रदेशमा अहिले प्रदेश राजधानीका संरचना निर्माण गर्ने पर्याप्त जग्गा नपाएको गुनासा सुन्न पाइन्छ”, उहाँले भन्नुभयो, “प्रदेश नं ५ मा आगामी दुई वर्षभित्र प्रस्तावित राजधानीको क्षेत्रमा राजधानी तोक्नका लागि तोक्ने र त्यसपछि सुतेर बस्ने हैन काम गर्नेछौँ ।” 

उहाँले आफूलाई प्रदेश राजधानी आफ्नो ठाउँमा लग्यो भन्ने आरोपको खण्डन गर्नुहुँदै भन्नुभयो, “मुख्यमन्त्रीको गाउँबाट भालुवाङ पुग्न र बुटवलबाट भालुवाङ पुग्न पनि उत्तिकै समय लाग्छ, मैले मेरो होइन प्रदेशको स्वार्थ हेरेको हुँ ।” उहाँले राजधानी सारिएकामा लुम्बिनी क्षेत्रका जनताले मन दुखाउनुपर्ने आवश्यकता नरहेको बताउँदै रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानीका रुपमा अगाडि बढाउने प्रदेश सरकारको योजना रहेको स्पष्ट पार्नुभयो । 

“राजधानी सरेकामा यस क्षेत्रका कसैले पनि मन दुखाउनुपर्ने म मान्दिनँ, लुम्बिनी क्षेत्र ६ जिल्लाबाट विस्तार भएर अब प्रदेशका १२ जिल्लामा फैलिएको छ”, उहाँले भन्नुभयो, “जति क्षेत्र विस्तार हुन्छ, व्यापार व्यवसायका पनि विस्तार गर्न सकिन्छ, कसैले मन खुम्चाउनुपर्ने म ठान्दिनँ ।” उहाँले बुटवल भैरहवा औद्योगिक करिडोरको डिपिआर तयार भइसकेको जनाउँदै पोखरेलले लुम्बिनी अस्पताललाई नेपालकै नमूना अस्पताल बनाउने तयारीका साथ काम अघि बढेको सोत भएको जानकारी दिनुभयो । 

उहाँले रुपन्देहीकै सैनामैनामा नेपालकै ठूलो कृषि बजारको अवधारणा अगाडि बढाइएको, प्रदेशमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना बुटवलमा बनाउने र उजिरसिंह रङ्गशालाको निर्माणलगायत प्रदेशका गौरवका आयोजनासहित यस क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । उहाँले अखण्ड लुम्बिनीका लागि बुटवलमा भएको आन्दोलनले मधेश र पहाड छुट्याएर प्रदेश बनाउने योजनालाई निस्तेज बनाएको समेत बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले बाँके र बर्दियाबाट हरित क्रान्तिको शुरुआत गर्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले राप्ती नदीको सिक्टा र भेरी बबई डाइभर्सनको काम पूरा हुँदा बाँके बर्दियालाई हरित क्रान्तिमा कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!