बाग्लुङका सबै स्थानीय तहमा नेकपाको एकता टुङ्गियो

Posted on: 29 Mar, 2019

चैत १५, बागलुङ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ । 

पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) ले पाँच–पाँच स्थानीय तहमा नेतृत्वको जिम्मेवारी पाएका छन् । जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्व एमालेको भागमा परेको छ । 

यस्तै, गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको नेतृत्व पूर्व माओवादी केन्द्रले पाएको छ । एउटा दलको अध्यक्ष भएपछि सचिव स्वतः अर्को दलबाट हुने संयन्त्रका नेता इन्द्रलाल सापकोटाले बताउनुभयो । 

‘एकताको खाका टुङ्गिएको छ’ उहाँले भन्नुभयो,“व्यक्ति को भन्ने निर्णय प्रदेश समितिले गर्छ ।” नेता सापकोटाका अनुसार स्थानीय तहका पार्टी संयन्त्रको सुझावका आधारमा जिल्लाबाट नाम सिफारिस हुनेछ । जिल्लामै नेतृत्व टुङ्गाएर अन्तिम निर्णयको लागि प्रदेश समितिमा पठाइने नेकपाले जनाएको छ । 

स्थानीय तहसँगै वडा समितिको एकता प्रक्रियालगत्तै टुङ्गिने संयन्त्रका नेता ज्ञामनाथ गैरे ‘अनिल’ ले बताउनुभयो । ‘दशवटै स्थानीय तहमा पार्टी संयन्त्रको बैठक तोकिएको छ’ उहाँले भन्नुभयो, “वडाको नेतृत्व जिल्ला संयन्त्रले टुङ्गाउँछ ।” 

वडादेखि गाउँ, नगरसमितिको एकता प्रक्रिया चैतभित्रै सकिने नेकपाको दाबी छ । पार्टीका जनवर्गीय सङ्गठनको एकीकरणका लागि जनसङ्गठन एकता कार्यदल समेत गठन गरिएको छ । कार्यदलले सङ्गठनका कामको संयोजन, व्यवस्थापनसँगै एकता प्रक्रियाअघि बढाउनेछन् । 

जिल्लाको नेतृत्व पनि यथाशक्य छिटो टुङ्गिने जनाइएको छ । जिल्ला संयन्त्रले अध्यक्ष पदका लागि पूर्व एमालेबाट कृष्ण पाठक र पूर्व माओवादी केन्द्रबाट फमलाल न्यूरे र ज्ञामनाथ गैरे ‘अनिल’ को नाम सिफारिस गरेको छ । यस्तै, सचिव पदमा पूर्व एमालेबाट लालबहादुर थापा र पूर्व माओवादी केन्द्रबाट राजीव घिमिरेलाई सिफारिस गरेको छ । जिल्ला समितिको नेतृत्व भने पार्टी केन्द्रले अन्तिम टुङ्गो लगाउँदैछ । 

बुधबार र बिहीबार गरी दुई दिनसम्म बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इञ्जार्च पृथ्वीसुब्बा गुरुङ, अध्यक्ष हितराज पाण्डे लगायतको उपस्थिति रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!