तयार भयो लेकाली पदमार्गको गुरुयोजना

Posted on: 03 Feb, 2021

माघ २१, बाग्लुङ । बागलुङको तमानखोलामा पर्ने पर्यटकीय सोलेडाँडा र ताराखोलाको डुडेलेकसहितका भूगोल समावेश ‘लेकाली पदमार्ग’ को गुरुयोजना बनाइएको छ । मोटरबाटोले धेरै स्थानमा पुग्न सकिने भए पनि पदयात्राबाट जाने अवस्था अझै नभएपछि ढोरपाटनसम्म पुग्ने पदमार्गको गुरुयोजना बनाइएको हो । 

बागलुङको घोडाबाँधेदेखि ताराखोला, डुडेलेक, सोलेडाँडा, बयलधुरी, मालिका, नौदले हँदै गुर्जाघाटबाट ढोरपाटन जान झण्डै सात दिन यात्रा गर्न सकिने पदमार्गको रेखाङ्कन भएको हो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले चालू वर्षको कार्यक्रममा यो पदमार्गलाई गुरुयोजनामा सूचीकृत गरेको छ । तमानखोलाले चालू वर्ष यो पदमार्गको डिपिआर बनाउन बजेट विनियोजन गरेको अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

दुई वर्षअघि सम्भाव्यता अध्ययन भइसकेकाले आन्तरिक पर्यटकले पटकपटक गरी यात्रा गरिसकेका छन् । गाईवस्तु चराउने पुराना बाटालाई मर्मत गरेर ढोरपाटनसम्म पुग्ने पदमार्ग बनाइने बुढाले बताउनुभयो । अप्ठ्यारो बाटोमै यात्री हिँडिसकेका छन् । 

ताराखोला गाउँपालिकाको ठूलो हिलेस्थित होमस्टे बसेपछि एक दिनको पैदल यात्रामा तमानखोलाको सोलेडाँडा पुगिन्छ । तर सहज यात्राका लागि सोले नपुग्दै डँुडेलेकमा एउटा बसाइ बसाल्न ताराखोलाले तयारी गरेको अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । 

यो लेक दुई पालिकाको सिमाना हो । सोलेदेखि ढोरपाटनतर्फको खण्डमा दुईवटा बसाइ तमानखोलाले बनाउने बुढा बताउनुहुन्छ । बास बस्ने स्थल र रेष्टुरेन्टको व्यवस्थापन गर्न सकेमा आकर्षक र सहज पदयात्रा गर्न सकिने लेकाली पदयात्रा गरिसक्नुभएका पदयात्री आरके अदीप्त गिरीले बताउनुभयो । 

दुई वर्षअघि ट्रेकिङ एजेन्सी एसोसिएशन (टान)ले नेपाल पर्यटन बोर्ड र तमानखोला गाउँपालिकाको सहकार्यमा पदमार्गको रुट तय गरेको हो । गाउँपालिकालाई फेरो पार्ने गरी तय गरिएको झण्डै ४० किमी लामो पदमार्गमा ठूलो हिलेदेखि सोलेको दूरी जोड्दा झण्डै ६० किमी बन्ने बुढाले बताउनुभयो ।

पदमार्गका लागि दुईवटा बाटो तय गरिएको छ । ताराखोलाको ठूलोहिलेदेखि एउटा र बुर्तिवाङ हुँदै तमानखोलाको बुङ्गादोभानबाट अर्को पदयात्रा गर्न सकिन्छ । “जोखिम मोलेर गाडी चलाउने र करोडौँ खर्चेर पहिरो निम्त्याउनुभन्दा पदमार्गमार्फत पर्यटक भित्र्याउने योजना बनाएका हौँ”, बुढाले भन्नुभयो । 

पदमार्ग सञ्चालन हँुदा बागलुङ, म्याग्दी, गुल्मी, प्यूठान, रोल्पा र रुकुममा धेरै पर्यटक त्यहाँ पुग्न सक्ने उहाँले बताउनुभयो ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!