बागलुङको अवरुद्ध सडक डेढ महिनापछि पुनःसञ्चालन

Posted on: 09 Sep, 2020

भदौ २४, गलकोट । अविरल वर्षात्का कारण बागलुङ नगरपालिकाको तित्याङ हुँदै भकुण्डे, रायडाँडा जाने सडक अवरुद्ध भएको डेढ महिनापछि पुनःसञ्चालन भएको छ ।   गत साउनको १ गते  तित्याङस्थित बुकेनीमा ठूलो पहिरो गएका कारण डेढ महिनादेखि साविकका तीन गाविस जोड्ने सडक अवरुद्ध भएको थियो । सडक भासिएर गएको पहिराले गर्दा निरन्तरको प्रयासपछि डेढ महिनापछि मात्रै सडक चलाउन सकिएको नगरपालिकाले जनाएको छ । 

लामो समय सडक अवरुद्ध हुँदा वैकल्पिक व्यवस्थापन गर्न नसकेको भनी नागरिकस्तरबाट गुनासो आएको थियो ।  बुकेनीमा खसेको पहिरो पन्छाएर सडक चलाउन नसक्ने भएकाले समय लागेको  तित्याङका वडाध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । “प्राकृतिक विपत्तिलाई कसले सक्छ र ”, वडाध्यक्ष थापाले भन्नुभयो, “न माथि खन्ने ठाउँ थियो न तल,  ठूलो मेहनतका साथ सडक खुलाइएको छ ।” उक्त सडकको बैरेनी गैरा र बागलुङ–३ काठेखोलामा समेत ठूलो पहिरो गएको थियो । सबै पहिरो मर्मतपछि अहिले नियमित सडक पुनःसञ्चालन भइरहेको छ । 

भिरालो जमीन भएका कारण वैकल्पिक सडक निर्माण गर्न समेत नगरपालिकाले सकेको थिएन । साउनको पहिलो हप्ता जिल्लाका अधिकांश सडक वर्षा्तका कारण अवरुद्ध भएको र  पानी कम पर्न थालेपछि चले पनि तित्याङ, भकुण्डे र रायडाँडा जोड्ने सडक खुलाउन सकिएको थिएन । 

करीब रु  १० लाख खर्च गरेपछि अवरुद्ध सडक खुलाइएको वडा कार्यालयले जनाएको छ । सडक पुरानै अवस्थामा ल्याउन  भने झण्डै रु एक करोड खर्च लाग्नेछ । पहिराका कारण तित्याङ, भकुण्डे तथा रायडाँडामा खाद्य पदार्थ ढुवानी गर्न र  बिरामीलाई अस्पताल ल्याउनसमेत समस्या हुँदै आएको थियो । ढिलै भएपनि सडक चलेकाले जनतालाई सहज भएको छ । 

सात दिनदेखि अन्धकारमा ढोरपाटनवासी

जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते राति भुजीखोलामा आएको बाढीका कारण ठूलो जनधनमा क्षति पुगेको छ । बाढीका कारण मानवीय मात्रै नभई ठूलो मात्रमा भौतिक क्षति भएको छ । हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने त्यत्तिकै अझ बेपत्ता छन् । बाढीले ८० घर पूर्ण र ७१ घरसहित १७१ भौतिक संरचनामा क्षति पुगेको छ । 

 बाढीका कारण भुजीखोला  छेउमा रहेका ११ जलविद्युत अवरुद्ध छन् । कुनैमा आंशिक क्षति पु¥याएको छ भने केही जलविद्युत्गृह पूर्ण रुपमा बाढीले बगाएको छ । केहीको नहर भत्काएको छ । आफ्नो घरबार गुमाउँदा अँध्यारो मन भएका बाढीपीडित सात दिनदेखि अन्धकारमा रात काट्न बाध्य छन् । 

जिल्लामा जम्मा ५५ प्रतिशत केन्द्रीय विद्युतीकरण पुगे पनि विकटमा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् । खोला किनारमा रहेका जलविद्युत्गृहमा भुजीखोलाको बाढीले क्षति पुर्याएको छ । अवरुद्ध एक जलविद्युत् आयोजनाको मर्मतपछि सञ्चालनमा ल्याइएको छ भने अन्य आयोजना मर्मतका लागि स्वतस्र्फुत रुपमा अभियान थालिएको स्थानीयवासी विजय कायतले जानकारी दिनुभयो । अहिले ढोरपाटनको बोबाङ गाउँबाहेक अन्य अन्धकार भएको ढोरपाटन नगरपालिका–९का वडाध्यक्ष हरिबहादुर घर्तीले जानकारी दिनुभयो । 

भुजीखोलाको बाढीले द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरुदुङ र लाकुरीबोट गाउँ अन्धकार भएको छ । बाढीका कारण मानवीय क्षति नभएको तर नगरपालिकाका ७ र ८ मा विद्युत् अवरुद्ध भएको छ । भुजीखोला किनारामा रहेका विद्युत्गृहमा बाढी पसेर ठूलो क्षति पुगेका कारण अन्धकारमा बस्नुपरेको  दुनेपधेराका घाइते बाढीपीडित छमेन्द्र पुनले बताउनुभयो । “बाढीले घरमा क्षति पुगेको छ, बारीमा त्रिपाल टाँगेर बस्दै आएका छौंँ”, पुनले भन्नुभयो “घर बाहिर बस्नुपर्ने पीडा त छँदैछ, त्यसमा न विद्युत् छ न मोबाइलको टावर छ ।” घरमै आएका स्वास्थ्यकर्मीले सामान्य उपचार गरे पनि थप उपचारका लागि बुर्तिवाङ जान नसकेको पुनको भनाइ रहेको छ । बाढीका कारण भुजिखोला पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ, नेपाने देउराली जलविद्युत् र  रुद्रताल लघुजलविद्युत् आयोजनासहित ११ जलविद्युत्मा क्षति पुगेको हो । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीग्रस्त क्षेत्रको अवलोकनपछि निजीरुपमा सञ्चालनमा आएका लघुजलविद्युत् आयोजनाको अवस्था हेरेर मर्मतमा सहयोग गरिने आश्वासन दिनुभएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!