बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने

Posted on: 21 Sep, 2016

हेटौँडा,५ असोज

विगत केही दिन देखि मजदुर तथा व्यवस्थापनका बीच विभिन्न माग राखी बन्द भएको बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा आज भएको उद्योग व्यवस्थापन, मजदुर ट्रेड युनियनका प्रतिनिधि, मजदुरहरुका बीच भएको छलफलबाट उद्योग खोल्ने सहमति भएको हो । छलफलमा युनिलिभरका मानवश्रोत व्यवस्थापक सुमित धर र उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले उद्योग सञ्चालन भएको ४५ दिन भित्र मजदुरको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछि उद्योग खुल्ने वातावरण बनेको हो । उद्योग व्यवस्थापनले उद्योग बन्द गरेवापत निलम्बनमा परेका मजदुरको ३० दिन सम्म आचरण हेरी निलम्बन फिर्ता लिने र यही निलम्बनलाई आधार मानी आगामी दिनमा कार्वाही नगर्ने, प्रत्येक मजदुरलाई रु. २ लाखका दरले ऋण उपलब्ध गराउने, आवास ऋणलाई यथावत राख्ने जस्ता मागहरु सम्बोधन गर्ने लिखित सहमति गरेको छ । छलफलमा उद्योग संघका अध्यक्ष नवराज अर्याल, मउवासंघका महासचिव महेन्द्र राउत, मजदुरका तर्फबाट जयराम धिताल, रविबाबु मल्ल, लालकृष्ण प्याकुरेल, राम सापकोटा, चन्द्रप्रसाद सापकोटा, उद्धवप्रसाद पहाडी, चितबहादुर विश्वकर्मालगायतको सहभागिता रहेको थियो । केही दिन देखि उद्योग बन्द हुँदा आज सम्म करीब ६० करोड रुपैया नोक्सान भएको उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले बताउनु भएकोछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!