दाङका युवा टर्की व्यवसायतर्फ

Posted on: 15 Nov, 2020

कात्तिक ३०, दाङ | सानीभेरी गाउँपालिका –४ रुकुमका चन्द्र बिसीले दाङ आएर फरक व्यवसाय शुरु गर्नुभएको छ । उहाँले घोराही उपमहानगरपालिका –१७ गैरागाउँमा  एक बिघा जमीन वार्षिक रु ५० हजार भाडा दिने शर्तमा दश वर्षलाई  लिएर टर्की पालन व्यवसाय आठ महिनाअघिदेखि सञ्चालन गर्नुभएको हो । 

‘बिसी टर्की फर्म’  हाल टर्की, हाँस, स्थानीय र फाइटर कक पालिएका छन् ।  प्रतिबच्चा रु चार  सयका दरले पाँच सय  टर्की  बुटवलबाट ल्यइएकामा ठूला बिक्री भएर अहिले सानाठूला गरी  १५०  बाँकी छन् ।  ‘टर्की पाल्नलाई धेरै मेहनत गर्नुपर्दो रहेनछ, तारबार गरिएको खुला ठाउँमा चर्छन् । उनीहरुले घाँस, दुबो, मकै र ब्रोइलर कुखुराको  दाना पनि राम्रो मानेर खाने गरेका छन् । भ्याक्सिन दिन नपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले छिटो आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने भएकाले पाल्न सजिलो छ’, उहाँ बताउनुहुन्छ । 

सामान्यतया टर्की ६ महिनामै वयस्क हुन्छ र अण्डा दिन थाल्छ । आफै ओथारो बसेर तिनले बच्चा दिने गरेका छन् । औसत आयु दुईदेखि चार वर्षसम्म रहने टर्की ६ महिनाका अन्तरमा आठ किलोसम्मको हुन्छ । दुई वर्ष जति पाल्दा एउटा टर्की १४ देखि १७ किलोसम्मको हुने उहाँ बताउनुहुन्छ ।  

बोसोरहित हुने भएकाले यसको मासु सेवन गर्दा मानिसको हाड मजबुत बनाउन सहयोग मिल्छ ।  यसको मासु जस्तोसुकै मधुमेह, युरिक एसिड, र रक्तचापका बिरामीले खान मिल्ने र कसैलाई  असर नगर्ने हुँदा हरेक मानिसको रोजाइ भएको उहाँको भनाइ छ । जिउँदो प्रतिकिलो रु आठ  सय र तयार पारिएको मासु प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ । 

तुलसीपुर उपमहानगरपालिका – १७ का नारायण आचार्यले ‘नारायण पोल्ट्री फर्म’ को नामबाट कुखुरा पालन व्यवसाय सञ्चालन गर्नुभएको छ  । दुई वर्ष कतारमा बसेर आउनुभएका आचार्य उता कमाएको पैसा अलिअलि जम्मा गरेर राखेको र दाङमै केही गर्नुपर्छ भन्ने सोचाइ आएपछि लेड्स कुखुरा व्यवसाय सञ्चालन गरिएको बताउनुहुन्छ । ‘आठ कठ्ठा आफ्नो जमीनमा रु ४० लाखको लगानीमा दुई  खोरबाट कुखुरा पालन शुरु गरेको चार वर्ष भयो । दाङमा टर्की व्यवसाय पनि राम्रो होला जस्तो लागेर  त्यो पनि शुरु गरेको छु’,  चार सय टर्कीका बच्चा चितवनबाट ल्याएर व्यवसाय शुरु गर्नुभएका आचार्य सात महिनादेखि आम्दानी लिन थालेको  बताउनुहुन्छ । उहाँले दुई खोरमध्ये एउटामा ठूला र अर्काेमा साना टर्की  राख्नुभएको छ ।  गाउँघरमा उत्पादन भएको दाना र सामान्य हावापानीमा पाल्न सकिने भएकाले सजिलो उहाँ बताउनुहुन्छ । 

यसको माग धेरै भएकाले   खोरबाटै बिक्री हुने गरेको छ  । स्थानीय बजार तथा  काठमाडौँ, बुटवल पनि जाने गरेको छ । बजारमा माग धेरै भएकाले पुर्याउन नै सकेको छैन । विदेशी भूमिमा पसिना बगाउनुभन्दा आफ्नै गाउँठाउँमा सानोतिनो व्यवसाय गर्नु उचित लागेर टर्की व्यवसाय गर्नुभएका उहाँ अर्काका देशमा श्रम गर्नुभन्दा स्वदेशमा नै काम गर्न   युवालाई सल्लाह दिनुहुन्छ ।  उहाँले दुई जनालाई रोजगारी पनि दिनुभएको छ । आफू टर्की पालन व्यवसायलाई व्यवस्थित गर्ने र कडकनाथ( कालो कुखुरा)  थपेर व्यवसायलाई अगाडि बढाउने  सोचमा रहेको  आचार्यले बताउनुभयो । स्थानीय तहले किसानलाई प्रोत्साहन गर्ने  हो भने व्यवसायलाई निरन्तरता दिन सजिलो हुने  र आत्मनिर्भर हुने आशा उहाँले व्यक्त गर्नुभएको छ । 

घोराही उपमहानगरपालिका पशु सेवा कार्यालयका प्रमुख जीवराज पौडेलले पशुपक्षी व्यवसाय गर्न चाहने युवालाई लक्ष्य गरेर युवा लक्षित अनुदान सहयोग कार्यक्रम रहेको जानकारी दिनुभयो ।  उपमहानगरपालिकाअन्तर्गत पशुसेवा शाखाको युवा लक्षित कार्यक्रम पनि रहेको छ । किसानलाई प्राविधिक सहयोग र पशुपक्षीमा रोग लाग्दा उपचार, खोप, दानापानी आदिका बारेमा व्यवसायीलाई परामर्श दिने र अन्य सहयोग दिइएको उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!