पर्वतमा धान उत्पादन सात प्रतिशत बढ्ने

Posted on: 06 Nov, 2020

कार्त्तिक २१, पर्वत । पर्वतमा गएको वर्ष ह्वात्तै घटेको धान उत्पादन यस वर्ष बढ्ने भएको छ । जेठ अन्तिम सातादेखि नै निरन्तर वर्षा परेकाले सात प्रतिशतभन्दा बढीले उत्पादन वृद्धि हुने भएको अनुमान गरिएको छ ।  रोप्ने बेला र रोपिसकेपछि निरन्तर वर्षा हुनु, हावाहुरी, रोग किरा तथा असिना नपर्नुजस्ता अनुकूल समय परेकाले यस वर्ष धान उत्पादन बढ्ने भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । 

गत वर्ष भने रोप्ने बेला लामो समय परेको खडेरी, बाला लाग्ने बेला कालो पोकेको प्रभाव र थन्क्याउने बेला आएको असिना पानीका कारण पर्वतमा १० प्रतिशतले धान उत्पादन घटेको थियो । यस वर्ष धानखेतीका लागि दशककै राम्रो मौसम परेको  केन्द्रले जनाएको छ । 

पर्वतमा मुख्य बालीको रुपमा चिनिने धान बालीको उत्पादन बढेपछि चामल आयात समेत घट्ने भएको छ । पर्वतमा नौ हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । अघिल्लो वर्ष २६ हजार ९० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष बढेर २७ हजार ९१६ मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा भने भने प्रतिकूल मौसमका कारण घटेर साढे २३ हजार मेट्रिक टनको हाराहारीमा उत्पादन भएको थियो कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो । 

पर्वतको जमीनमा औसतमा प्रतिहेक्टर २ दशमलब ९१ प्रतिशत मेट्रिक टन धान फल्ने गरेको छ । जिल्लामा स्थानीय छेमरोङ, जेठोबुढो, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायतका धान खेती हुँदै आएको छ । यसवर्ष कटुवाचौपारी, कुर्घा, पाङ, विहादी, र पैंयु क्षेत्रमा उत्पादन बढ्ने भएको छ । 

यसैबीच यहाँका कृषकलाई यतिवेला बालीनाली थन्क्याउन भ्याइनभ्याई भएको छ । कृषकहरु बिहानैदेखि बेलुकासम्म खेतवारीमै व्यस्त हुन थालेका छन् । थन्क्याउने बेलामा पनि मौसम सफा भएका कारण कृषकहरु बिहानैदेखि साँझ अबेरसम्म खेतमै व्यस्त देखिएका छन् । उच्च पहाडी भेग र छिटो रोपाई भएका ठाउँका कृषकले धान थन्क्याइसकेका छन् भने मुख्य धान पकेट क्षेत्रमा भने काट्न शुरु भएको ज्ञान केन्द्रले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!