शिक्षण पेशाबाट अवकाशपछि बाख्रापालनमा

Posted on: 24 Jul, 2019

साउन ८, बनेपा |  शिक्षण पेशाबाट अवकास पाएपछि भिमसेन बस्नेतले  अहिले बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । पनौती नगरपालिका–७ बस्ने बस्नेतले आफ्नै घर नजिकै एक रोपनी जग्गामा रु २० लाख लगानी गरेर सो व्यवसाय शुरु गर्नुभएको हो । 

पनौती नगरपालिका–७ स्थित सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटमा तीस बर्षसम्म शिक्षण पेशामा रहनुभएका बस्नेतले इञ्जिनीयर मनोज प्रजापतिसँग मिलेर ‘एम्बिशन एग्रीकल्चर प्रालि’स्थापना गरी यो व्यवसाय शुरु गर्नुभएको हो । बाख्राका लागि आवश्यक पर्ने खोर निर्माण र चरण क्षेत्र विस्तार गरिएको छ । उहाँको फार्ममा अहिले ३२ बाख्रा छन् । परम्परागत शैलीभन्दा फरक किसिमले निर्माण गरिएको खोरका लागि आवश्यक पर्ने सामग्री चीनबाट मगाइएको सञ्चालक बस्नेतले बताउनुभयो । 

गरे के हुँदैन भन्ने कुरालाई व्यावहारिक रुपमा देखाउन यही पेशाबाट पनि सिकिने भएकाले आफूहरुले फार्ममार्फत नयाँ प्रविधि भित्र्याएर काम गरिरहेको उहाँको भनाइ थियो । फार्ममा बोका, खसी, पाठापाठी, माउ र साना पाठापाठीलाई राख्ने ठाउँसमेत छुट्टाछुट्टै बनाइएको र त्यसका लागि काठ र बाँस प्रयोग नगरी चीनबाट ल्याइएको प्लाष्टिकको टाँड प्रयोग गरिएकोे छ । त्यससँगै फोर्स क्लिनर र च्याप्टर उपकरणसमेत खरीद गरिएको छ । “यसले फार्म गन्हाउने, कुहिने समस्याबाट मुक्त गराउनाका साथै लामो समयसम्म टिकाउ हुन्छ र बेला बेलामा भत्काइरहनुपर्दैन ।” सञ्चालक बस्नेतले भन्नुभयो, “सरसफाइ गर्न पनि सजिलो भएको र रोगब्याधिबाट पनि मुक्त हुने खालको सामग्री प्रयोग गरिएको छ ।” साना साना कुराले पनि धेरै असर गर्ने भएकाले आफूहरुले त्यस्ता कुरामा समेत जोड दिएको उहाँले बताउनुभयो ।

बाख्रापालनसम्बन्धी किताब र इन्टरनेटबाट त्यसको विधि, प्रक्रिया र अपनाउनुपर्ने सावधानीलगायतका विषयमा अध्ययन गर्दै दैनिकजसो पशु प्राविधिकसँग परामर्शसमेत लिइरहेको सञ्चालक बस्नेतको भनाइ थियो । शून्यबाट नै शुरु गरिए पनि त्यसमा आफू सफल भएरै छाड्ने उहाँले जिकिर गर्नुभयो । “मलाई ९० प्रतिशत मान्छेहरुले सफल हुँदैनस् भनिरहेका छन्, तर म गरेरै देखाउँछु भनेर लागिरहेको छु ।”, सञ्चालक बस्नेतले भन्नुभयो ।

आफूले गरेको अध्ययनमा २९ प्रतिशत मात्रै मासु हाम्रो देशमा उत्पादन हुँदो रहेछ, अरु बाँकी सबै चीन र भारतबाट आयात हुँदोरहेछ । “त्यसको आपूर्तिमा स्वदेशबाट नै केही सहयोग गर्न र अर्को सबैभन्दा चुनौतीको पेशालाई अङ्गाल्ने क्रममा बाख्रा पालनलाई रोजेँ ।” उहाँले जोड दिनुभयोे, “पशुपालनमा भैँसीपालन र गाईपालनभन्दा बढी गाह्रो व्यवसाय भनेकै बाख्रापालन भएकाले पनि यही व्यवसायलाई नमूनाको रुपमा अगाडि बढाउन शुरु गरेका हौँ ।”

बस्नेतसँगै अर्का एक इञ्जिनीयर पनि फार्ममा साझेदारीको रुपमा रहनुभएको छ । साथी र आफूले सल्लाह गरेर सो पेशा थालनी गरेको उहाँले बताउनुभयो । यसअघि उहाँहरु दुवैले सहकारीमार्फत तरकारीखेतीदेखि साबुन बनाउने व्यवसाय थालनी गरे पनि ती काम असफल भएपछि बाख्रापालनतर्फ लागेको सञ्चालक बस्नेतले जानकारी दिनुभयो । 

खसी बोकाको बजारको अवस्था पनि राम्रो रहेको उहाँको भनाइ थियो । “अहिले बजारमा हेर्ने हो भने खसीबोकाको अभाव छ, हामीले पालन गरेको खसी, बोका र बाख्राका लागि टाढाको बजार जानै पर्दैन, यही पनौती, बनेपा र धुलिखेल नै बजारको लागि काफी छ ।”,सञ्चालक बस्नेतले भन्नुभयो ।

रोग प्रतिरोधात्मक बाख्रापालन

धेरैजसो बाख्रा फार्म सञ्चालन गर्नेले जमुनापारी जातको बाख्रा ल्याउने र जसमा रोग प्रतिरोधात्मक क्षमता नभएर मर्ने अनि घाटामा जाने अवस्था देखेर त्यसबाट मुक्त हुन आफूहरुले खयरजाताका बाख्रालाई क्रस गराएर नयाँ जात निकाल्ने प्रयासमा लागिरहेको उहाँले जानकारी दिनुभयो  । त्यस्ता जातको बाख्रामा रोग प्रतिरोधात्मक क्षमता बढी हुने र मर्ने दरमा कमी आउने उहाँको भनाइ थियो ।

त्यससँगै बाख्राको पाठी उत्पादन गरेर सहकारीमा आबद्ध सदस्यलाई एक घरलाई दुई वटासम्म बाख्रा वितरण गर्ने र त्यसको रेखदेख आफैँले गरेर बजारीकरणका लागि फार्मबाट नै गर्ने योजनाअगाडि बढाइएको उहाँको भनाइ थियो ।    

दाना उद्योग सञ्चालन गरिने

बाख्रापालनसँगै उहाँहरुले अब दाना उद्योग सञ्चालन गर्ने तयारी गरिरहनुभएको छ । त्यसका लागि उपकरण खरीद गर्न रु ६० देखि ७० लाख पर्ने र अरु फार्मका बाख्रा, गाई र भैँसीपालन गर्ने किसानलाई बिक्री गर्ने योजनामा लागेको सञ्चालक बस्नेतले बताउनुभयो । 

बस्तुभाउको लागि आवश्यक पर्ने घाँस पात बर्खामा पर्याप्त भए पनि हिउँदमा नहुने भएकाले वरिपरि भएका रुख बिरुवाको घाँसपात खरीद गरी पेलेर चक्की बनाएर विक्री गर्ने सोचमा रहेको त्यस उद्योगले गर्दा बाख्रापालन व्यवसायलाई थप सहयोग गर्ने उहाँले बताउनुभयो । बाख्रापालनसँगै सञ्चालक नमूनाको रूपमा माछापालन गर्न प्लाष्टिकको पोखरी र नयाँ प्रविधिको मौरीको घार समेत चीनबाट ल्याएर परीक्षण गरिरहेको उहाँले बताउनुभयो । सो फार्मलाई अध्ययन केन्द्रकै रुपमा विकास गरेर अगाडि बढ्ने सोचका साथ अगाडि बढेको उहाँको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!