मार्सी धान जोगाउन डिपिआर तयार

Posted on: 24 Apr, 2019

विजय रावत | वैशाख ११, खलङ्गा | विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिएको छ । 

जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो । 

गुरुयोजना निर्माणका लागि डिपिआरको काम अगाडि बढाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । यसले कालीमार्सीको गुणस्तर, उत्पादन परिणाम तथा उत्पादकत्व बढाउन र यसको संरक्षण गर्न आधार तयार गर्ने छ । “मार्सीसहित पातारासी गाउँपालिकालाई कृषि पर्यटनको नमूना गाउँपालिका बनाउने योजनाअन्तर्गत डिपिआरको तयारी भइरहेको हो”, प्रशासकीय अधिकृत बुढ्थापा स्पष्ट पार्नुभयो । 

मार्सी धानले बजार पाउन थालेपछि अहिले यसको उत्पादन तथा संरक्षणमा स्थानीयवासीसमेत जुटेका छन् । यसका लागि सिँचाइकुलो व्यवस्थित गर्नेदेखि अन्य व्यवस्थापनमा किसानले जोड दिएका छन् । आर्थिक वर्ष २०७३÷०७४ मा जुम्लामा कूल छ हजार ९० हेक्टर क्षेत्रफलमा लगाइएको यो धानवालीबाट दुई हजार ९०० मेट्रिक टन उत्पादन भएको थियो । 

बीमाले उत्साह 

कालीमार्सी जोगाउन अहिले किसानले बीमासमेत गर्न थालेका छन् । मार्सी चामलको माग बढिरहेकाले यसको सुरक्षा गर्न बीमा पनि आवश्यक छ, स्थानीय किसान बताउँछन् । मार्सी चामलको माग बढ्दै गए पनि खेतीमा बढी दुःख गर्नुपर्ने भएकाले किसानको रुचि घट्दै गएको थियो । मार्सी हुने खेतमा समेत उन्नत धानको खेती श्ुरु भएको थियो । 

मार्सी धाननै लोप हुने जोखिम बढ्दै गएपछि बीमा सुविधा पनि दिइएको शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ । बीमा कार्यक्रमपछि किसानले यसकोे खेती गर्न उत्साहित भएका छन् । अहिले जुम्लाका अधिकांश किसानले मार्सी धानको ब्याड राखिसकेका छन् । 

जिल्लामा धानखेतीका लागि बीमा अभियान श्ुरु गरिएको यो पहिलोपटक हो । जिल्लाका सातवटै गाउँपालिका र नगरपालिकामा मार्सी धानखेती हुने गरेको छ । किसानकै आग्रहमा मार्सी धानको बीमा गरिएको शिखर इन्स्योरेन्सका ऋषिराम पाण्डेले बताउनुभयो । 

कृषि ज्ञान केन्द्रका प्रमुख डा तपेन्द्र शाहले किसानलाई मार्सीको बीमा गर्दा राम्रो हुने बताउनुभयो । उहाँका अनुसार रोग, असिना, खडेरी, धान झर्नेजस्ता समस्याले घाटा बेहोर्नुपर्ने चिन्ता नभएपछि किसानले ढुक्क भएर मार्सी उत्पादनमा जोड दिनसक्ने उहाँको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!