दूध ‘मास्टर’ले कृषिमा ल्याए परिवर्तन

Posted on: 25 Feb, 2019

फागुन १३, नारायणपुर | दाङको गढवा गाउँपालिका–४ का हरि यादवलाई धेरैले दूध मास्टर भनेर चिन्छन् । दीपेन्द्र मावि पर्सेनीमा अध्यापन गर्दै आउनुभएका यादवले व्यावसायिक भैँसीपालन मात्र गर्नुभएको छैन, गाउँका कृषकबाट दूध सङ्कलन गरी बजारसम्म पु¥याउँदै आउनुभएको छ । यादवले गाउँको कृषि क्षेत्रमा परिवर्तन नै ल्याउनुभएको छ । 

विशेषगरी दूध सङ्कलन गरेर गाउँमै दूध बिक्री गर्ने वातावरण मिलाउनु भएका यादवले आफैँले पनि भैँसीपालन गनुर््भएको छ । दैनिक २०० लिटर दूध सङ्कलन गर्दै आउनुभएका यादवलाई स्थानीयले ‘दूध मास्टर’ भन्ने गर्छन् । बत्तीस किसानको दूध सङ्कलन गरेर दुग्ध उद्योगमा पु¥याउँदै आउनुभएका यादवले दूध बिक्रीबाट मासिक रु ३० हजारदेखि रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । 

“धेरैले मलाई दूध मास्टर भनेर चिन्छन्”, यादवले भन्नुभयो, “शिक्षण पेसालाई असर परेको छैन, विद्यालय समयभन्दा बाहेकको समयमा भैँसीपालन र दुग्ध केन्द्र सञ्चालन गर्दै आएको छ । गढवा क्षेत्र दूध उत्पादन हुने क्षेत्र हो । यहाँबाट लमहीसम्म दुग्ध सामग्री बजार पु¥याउन गाह्रो भएपछि उहाँ आफैँले सङ्कलन केन्द्र खोल्नु भएको हो । दुग्ध सङ्कलन केन्द्र खोलेपछि २० किलोमिटर टाढा दूध बोकेर बिक्री गर्न जानुपर्ने बाध्यता हटेको छ । 

दुग्ध सङ्कलन केन्द्रलाई राप्ती पारी क्षेत्रकै नमूना बनाउने यादवको लक्ष्य छ । “चिलिङभ्याट खरीद गरी दैनिक ५०० लिटर दूध सङ्कलन गर्ने लक्ष्य छ”, यादवले भन्नुभयो । विगत २५ वर्षदेखि व्यावसायिक रुपमा दूधको कारोवार गर्दै आउनुभएका उहाँले अहिले दुई छोरालाई कृषि विषय नै पढाउनुभएको छ । “छोरा विशेषज्ञ भएपछि पेसा गर्न सजिलो होला भन्ने आश गरेको छु”, यादवले भन्नुभयो । उहाँकै पहलमा शक्ति उपभोक्ता सहकारी संस्था स्थापना भएको छ । सहकारी संस्थामा २५० किसान आबद्ध छन् । यस्तै आधारशीला सहकारी स्थापना गरी दुग्ध उत्पादक किसानलाई उहाँले समेट्दै आउनुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!