थलीलाई बोयर बाख्राको स्रोतकेन्द्र बनाइँदै

Posted on: 13 Feb, 2019

फागुन १, डोटी (रासस) | जोरायल गाउँपालिका–४ को थलीगाउँलाई बोयर बाख्राको स्रोतकेन्द्रका रुपमा विस्तार गरिने भएको छ । 

गाउँपालिकाले अवलम्बन गरेको ‘एक गाउँ, एक उत्पादन’ को नीतिअनुरुप गत वर्ष थलीगाउँका २७ परिवारलाई रु छ लाख लगानीमा प्रतिपरिवार एक÷एक बोयर बाख्राका पाठी र गाउँमा तीन बोयर बोका वितरण गरेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उक्त गाउँलाई बोयर बाख्राको गाउँपालिकास्तरीय स्रोतकेन्द्रका रुपमा विस्तार गर्न लागिएको पशु सेवा एकाइ प्रमुख मानबहादुर रानाले जानकारी दिनुभयो । 

पूर्णरुपमा जनजातिको बसोबास रहेको र अन्य पेशा व्यवसायभन्दा बाख्रापालन गर्न सहज पनि भएकाले सो गाउँमा आयआर्जनका लागि बाख्रापालनमा गाउँपालिकाले सहयोग गरेको अध्यक्ष ओझाले बताउनुभयो । उक्त गाउँमा वितरण गरिएका बाख्राले अहिले पाठापाठी पाएर एकबाट १२ पुगेको सिद्धबाबा जनजाति बाख्रापालन समूह थलीका अध्यक्ष खड्कबहादुर बुढामगरले जानकारी दिनुभयो । 

गत वर्ष जोरायल गाउँपालिकाका सबै वडा समेट्ने गरी अन्य ठाउँमा नौ बोयर बोका वितरण गरिएको थियो । यस वर्ष पनि गाउँपालिका पशु सेवा एकाइले १० बोयर बोका वितरण गर्ने तयारी गरेको छ भने बाख्राको खोर सुधारमा रु ५० हजारका दरले १० किसानलाई छनोट गरिसकेको बताइएको छ । 

रुपसकाँडा र वडा नं १ को गोगनपानीका किसानले करीब तीन वर्षदेखि नै कृषि तथा खाद्य सुरक्षा आयोजनामार्फत प्रदान गरिएका बोयर जातका बाख्रापालन गर्दै आएको ग्रामीण कृषि कार्यकर्ता खडकबहादुर मल्लले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!