बाँदरले सुन्तला सखाप पारेपछि किसान चिन्तित

Posted on: 19 Jan, 2019

माघ ५, मुग्लिन | चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् । 

“एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा झिमिक्क ग¥यो की बाँदर आएर सुन्तला सखाप पारिदिन्छन्, बाँदरबाट जोगाउन गाह्रो हुने भएकोले सुन्तला चाडैँ बिक्री गर्नुपर्छ, बाँदर नियन्त्रण गर्ने कुनै उपाय छैन,” वडा नं ४ केराबारी बिसौनाका सुन्ताला कृषक एसपी आले भन्नुभयो । 

करीब दुई बिघाहामा लगाएको सुन्तला धेरैजसो बिक्री गरीसकेको उहाँले बताउनुभयो । बाँदरले बाली पनि नष्ट गर्ने क्रम बढेपछि यहाँका किसान चिन्तित छन् । केही वर्षदेखि बाँदरले सताउन थालेपछि किसानले घरदेखि टाढा रहेको खेतबारीमा खेती लगाउन छाडेको स्थानीवासी मेघनाथ गुरुङ बताउनुहुन्छ ।

घर नजिकैको खेतबारीमा लगाएको बालीसमेत बाँदरले खाने र नष्ट गर्ने गरेको बताउँदै उहाँले खेतबारीमा लगाएकोखेती नष्ट गर्न थालेपछि विगत पाँच वर्षदेखि वडा नं २ डाँडा गाउँ भोर्ले र आसपासका किसान चिन्तित बनेका छन भन्नुभयो । 

“बाली लगाएपछि उम्रिन नपाउँदै बीउ र उम्रिएका टुसा खाइदिन्छन्, दिनभर बाँदर धपाउन पर्दा अन्य काम गर्न पाउदैँनन्,” उहाँले भन्नुभयो । “अहिले किसानले घरदेखि टाढा रहेको जग्गामा खेती नै लगाउन छाडेको र घर नजिकैका जग्गामा पनि खेती जोगाउन गाह्रो भएको उहाँको भनाइ छ । यहाँका किसान कोदो मकैँ फलफूल तथा तरकारी बालीमा निर्भर छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!