देशभर नब्बे प्रतिशत धान रोपाइँ

Posted on: 04 Aug, 2018

साउन १९, काठमाडौँ | देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको पाइएको छ । 

कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ । 

गत वर्ष साउनको दोस्रो साता (यही अवधि) सम्म ७७ प्रतिशत मात्र रोपाइँ भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाइँँँ भएकामा यस वर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान मन्त्रालयले गरेको छ । 

गत आर्थिक वर्षमा देशभर ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेकामा अहिले करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । आव २०७३÷०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको अभिलेख मन्त्रालयसँग छ । 

मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र निकै राम्रो मानिन्छ । त्यस क्षेत्रबाट धानको उत्पादकत्वमा समेत वृद्धि भई कूल उत्पादनको ७१ प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा २९ प्रतिशत उत्पादन हुने गरेको छ । मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँँँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ । मौसमको अनकूलता हुँदा उत्पादनमा पनि वृद्धि हुने गर्दछ । 

मुलुकमा १५ लाख ५२ हजार हेक्टर जमीनमा धानखेती गरिन्छ । धान उत्पादनमा करीब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने तथ्यांक छ । तीन दशकयता धान उत्पादनको दर प्रतिवर्ष करीब चार प्रतिशतले वृद्धि हुने गरेको पाइएको छ । 

विसं २०६६ देखि चार वर्षसम्म धानको उत्पादनमा ४० लाख लाख मेट्रिक टनको हाराहारीमा भएको भए पनि विसं २०७० देखि हालसम्म निरन्तर ५० लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएको छ । पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकास भएका कारण उत्पादन बढेको पाइन्छ । 

स्वदेशमा उत्पादन हुने धानबाट करीब ३० लाख मेट्रिक टन खानयोग्य चामल बन्ने गर्दछ । देशभर हाल चामलको माग ३८ लाख मेट्रिक टन रहेको हुँदा सो उत्पादनमा करीब आठ लाख मेट्रिक टन चामल अपुग हुने गर्दछ । गत वर्ष करीब रु २६ अर्ब बराबरको चामल आयात भएको अभिलेख छ । 

अर्थविद् राधेश्याम मालाकारले देशमा हुने उत्पादनभन्दा बढी वस्तु उपभोग गरिएमा विदेशबाट आयात बढाउनुपर्ने बताउँदै त्यसले व्यापार घाटा वृद्धि भई देशको अर्थतन्त्रमा नकारात्मक असर गर्ने विचार व्यक्त गर्नुभयो । मुलुकका विभिन्न स्थानमा उत्पादन हुने गहुँ, मकै, कोदो, फापरलगायत खाद्य सामग्रीको राम्रो उत्पादन हुने गरे पनि त्यसको उपभोगमा कमी आएका कारणले चामलको आयात बढेको छ । 

देशभर गहुँ २० हजार मेट्रिक टन, मकै २३ लाख मेट्रिक टन, कोदो तीन लाख मेट्रिक टन उत्पादन हुने गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!