ब्रह्मदेवमा गौविज्ञान अनुसन्धान केन्द्र, मुख्यमन्त्रीले उद्घाटन गर्ने

Posted on: 23 Jul, 2018

साउन ६, महेन्द्रनगर | भिमदत्त नगरपालिका वडा नं ९ ब्रह्मदेबमा गौविज्ञान अनुसन्धान केन्द्रको निर्माण कार्य पूरा गरिएको छ । छाडा पशु चौपायाको समस्यालाई मध्यनजर गरी अनुसन्धान केन्द्र निर्माण गरिएको छ ।

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोेचन भट्टले साउन ९ गते अनुसन्धान केन्द्र उद्घाटन गराउने कार्यक्रम तय गरिएको छ । उद्घाटन अघि अनुसन्धान केन्द्रमा रुद्रीपाठ सुरु गरिएको छ । रुद्रीपाठ समापन गरी अनुसन्धान केन्द्र उद्घाटन गरिने कार्यक्रम राखिएको छ ।

गौविज्ञान अनुसन्धान केन्द्र उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीदत्त भट्टले अनुसन्धान केन्द्रका पूर्वाधार निर्माण कार्य भएपछि प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबाट उद्घाटन गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए ।

‘पूर्वाधार निर्माण कार्य सकिएको छ, अहिले रुद्रीपाठ सुरु गरिएको छ’ अध्यक्ष भट्टले भने,‘साउन ९ गते उद्घाटन गरी सञ्चालनमा आउँछ ।’

छाडा पशु चौपायाको व्यवस्थापन र पशु सम्बन्धी कार्यका लागि ब्रह्मदेबस्थित सिद्धनाथ सामुदायिक वनमा अनुसन्धान केन्द्र बनाइएको छ ।

नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले अनुसन्धान केन्द्र निर्माणमा चासो देखाएका छन् । जगदुगुरु रुद्रीपाठमा दैनिक सहभागी भएका छन् ।

जगद्गुरुले गाई सडकमा छाडिएपछि गत वर्ष सुदूरपश्चिमको धर्तीमा फलेको अन्न त्याग घोषणा गरेका थिए । अनुसन्धान केन्द्रमा गाई राखिएपछि जगद्गुरुले अन्न ग्रहण गर्ने भएका छन् । 

देशव्यापी भ्रमण गरी भम्केनी धाम फर्किएका जगद्गुरुले महेन्द्रनगरको स्मारकमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा अन्न त्याग घोषणा गरेका थिए । त्यसपछि केही स्थानीय प्रायश्चित गर्दै केही गाईलाई घर  फिर्ता लगेका थिए । 

अनुसन्धान केन्द्र निर्माण उपभोक्ता समितिका अध्यक्ष भट्टले केन्द्र निर्माणमा जगद्गुरुले विशेष चासो देखाएको बताए ।

भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले छाडा पशु चौपाया व्यवस्थापनलाई प्राथमिकता दिएर पहिलो नगर सभाबाट बजेट विनियोजन गराएका थिए । भीमदत्त नगरपालिका वडा नं. १९ बागफाँटामा छाडा पशु चौपाया व्यवस्थापनका लागि गौशला निर्माण गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!