तरकारी उत्पादनमा आत्मनिर्भर मुगु हिन्दीकाद गाँउ

Posted on: 23 Feb, 2018

दान बहादुर बुढा | फागुन ११, मुगु | जिल्लाको छाँयानाथ रारा नगरपालिका ३ वडामा रहेको हिर्नीकाँद गाँउ हिजो आज तरकारी उत्पादन बाट आत्मनिर्भर भएको छ ।

कुनै बेला यो  गाँउका मानिसहरु हरियो तरकारीको नाम मात्र सुन्ने गरेका थिए तर पछिल्लो समयमा तरकारी खेतिलाई व्यवसायिक बनाए पछि यस गाउँ स्थानीयवासीहरुको आम्दानीको मुख्य स्रोत नै तरकारी खेति भएको छ । सदरमुकाम गमगढी बजार सम्मको पहुँच सहज भएकाले किसानले उत्पादन गरेको तरकारीहरु बजारमा  विक्रि हुने गरेको छ । बजारमा तरकारीको माग  बढी रहेको हुँदा यस गाँउका स्थानिय बासीहरु हिजो आज तरकारी खेतीमा ब्यस्त हुने गरेका छन । यो ३६ घर धुरी भएको गाँउमा बाह्रै महिना तरकारी उत्पादन हुने गरेको छ  ।

 यहाँका स्थानीयवासीले मौसम अनुसारको तरकारी खेति गर्ने र तरकारी खेतिबाट नै बालबालिकाको पढाई खर्च घर खर्च धानि रहेका छन ।  प्रायः गरि चुल्हो चौकोमा सिमित हुने महिलाहरु व्यवसायिक तरकारी खेतिमा लागेका र उनिहरुले एक सिजनमा दुई तिन लाखसम्म आम्दानी गर्ने गरेको, आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाई रहेको स्थानीय बासीहरुले बताउ छन ।

 हिउँदको समयमा गाउँका ३६ वटै घरधुरीले आफ्ना बारीमा प्लाष्टिक घर निर्माण गरि तरकारी उत्पादन गरिरहेका छन । अहिले प्लाष्टिक घर भित्र हरियो तरकारीका साथै काँक्रा, फर्सी, टमाटर, खुर्सानी, भेण्टा, तिते करेला,गाँजर, प्याज, चिचिण्डा लगायतका तरकारी तथा मसलाका वेर्ना उमारि सकेका छन । अहिले उमारेका विरुवा चैत्र पहिलो साता भित्र बारीमा सारेर वैशाखमा नै बजारमा पुर्याउन सकिने र बजार नजिक भएकै कारण अन्य अन्न बाली भन्दा तरकारीबाट फाईदा हुर्ने बालबच्च पढाउन सकिर्ने स्थानीय कृषक बल बुढाले बताएका छन  ।


 बजारमा तरकारी बेचेको केही रकमले नुन ,तेल लगायत औषधी उपचारमा खर्च गर्ने , बालबच्चाको पढाईमा खर्च गरेर बचेको बार्षिक प्रति घर ८०हजार देखी १ लाख सम्म रकम बैंकमा जम्मा गर्ने गरिरहेको अर्का स्थानीय सन्तरुपा कार्कीको भनाई छ । हरेक घरधुरीले बर्षमा डेढ देखि तिन लाखसम्म तरकारी बेचेर बचत गर्ने गरेका छन । व्यवसायिक तरकारी खेतिबाट आम्दानी मात्र हैन गाउँका बालबालिका महिलाको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ । विगतमा दाल भात, रोटी दाल लगायत सुख्खा खाना खाने स्थानीयवासीहरु अहिले विहान वेलुका नियमित रुपमा हरियो साग पात र तरकारी खाने बानी परिसकेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!