पनौतीमा सम्पदाको संरक्षण अभियान शुरु

Posted on: 28 Jan, 2018

माघ १४, बनेपा | काभ्रेपलाञ्चोकस्थित पनौतीको सांस्कृतिक पहिचान, ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्ने अभियान शुरु भएको छ । 

पनौती गोरखनाथ युवा क्लब र ज्ञान विकास सामुदायिक पुस्तकालयको आयोजनामा आज यहाँ सांस्कृतिक पदयात्रा गरियो । ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्न तिनको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने र आन्तरिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष सुदीप न्यौपानेले जानकारी दिनुभयो । 

उहाँले पदयात्रामा संलग्न सहभागीसँग रु ३०० संकलन हुने र त्यसबाट सहभागीलाई खाना, नास्ता व्यवस्थापन गरिने जानकारी दिनुभयो । पनौती –४ स्थित पशुपति मन्दिर परिसरबाट शुरु भएको पदयात्रा गणेशस्थान मन्दिर परिसरमा समापन हुने छ । 

पदयात्राका क्रममा योमरी स्तम्भ, गुप्तेश्वर मन्दिर, पनौती लायकू दरबार, त्रिवेणीघाट, फड्केश्वर मन्दिर, द्रौपदी मन्दिर, विष्णु मन्दिर, शान्ति संग्रहालय, ज्ञान विकास सामुदायिक पुस्तकालय र पनौती संग्रहालयसमेत अवलोकन हुने बताइएको छ । 

पनौती शहरका विभिन्न स्थानबाट परम्परागत र लोपोन्मुख बाजागाजासहित शुरु हुने पदयात्राका सहभागीलाई खाजाका लागि योमरीको उद्गमस्थल मानिएको पनौतीमा योमरी र समयबजीको व्यवस्था गरिने आयोजकले जनाएको छ । कार्यक्रममा तस्वीर प्रदर्शनी र सांस्कृतिक झाँकीसमेत प्रस्तुत हुने बताइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!