स्वस्थता जाँच लागू नहुदा बालीमा रोग फैलिँदै

Posted on: 23 Jan, 2018

माघ ९, ललितपुर | देशभित्र एक ठाउँको बीउ वा बिरुवा अन्यत्र लैजानका लागि ‘स्वस्थताको प्रमाणपत्र’ लिने नियम नहुँदा एकातिर भएको बालीको रोग सबैतिर फैलिने गरेको छ । 

कृषि विभागअन्तर्गतको बाली संरक्षण निर्देशनालयले देशबाट निर्यात गर्ने वा अन्य मुलुकबाट आयात गर्ने बीउ÷बिरुवामा स्वस्थता जाँच लागू गरेको छ । एउटा जिल्लाबाट अर्कोमा लैजाँदा सो व्यवस्था लागू गरिएका छैन । 

निर्देशनालय अन्तर्गतको राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रममा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलका अनुसार पहिले एक ठाउँमा मात्रै देखिएका कीरा वा रोग देशभर फैलन सक्ने खतरा छ । “आफन्तको घरबाट बीउ वा बिरुवा लैजाँदा सँगै रोग लैजाने सम्भावना रहन्छ । रोग लागेका तरकारी काटेर पखाल्दा माटो फालेको ठाउँमा रोग फैलने गर्छ,” उहाँले भन्नुभयो । 

काठमाडौं उपत्यकाको बन्दा र काउलीमा मात्रै देखिएको गाँठे रोग अहिले देशका धेरै ठाउँमा फैलिएको उहाँको भनाइ छ । कार्यालयले बिरुवा संरक्षण निर्देशिका, २०६६ अनुसार देशबाट निर्यात गर्ने र अन्य देशबाट आयात गरिने बीउ÷बिरुवाको जाँच गरेर स्वस्थता प्रमाणपत्र दिने गरेको छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!