काभ्रेपलाञ्चोकमा ऊन उत्पादन घट्दै

Posted on: 30 Aug, 2017

भदौ १४,बनेपा। काभ्रेपलाञ्चोकमा ऊन उत्पादन केही वर्षदेखि घट्दै गएको छ । 

पछिल्लो समय कृषक भेडापालन छोडेर बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका कारण ऊन उत्पादनमा कमी आएको हो । जिल्लामा आर्थिक वर्ष २०६८/६९ मा ३.४१ मेट्रिक टन भेडाको ऊन उत्पादन भएकामा आव २०७३/७४ मा १.३ मेट्रिक टन मात्र ऊन उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । 

पाँचखाल, उग्रचण्डीनाला, धुलिखेलको खडपु लगायतका क्षेत्रमा कृषकले भेडापालन गरिरहेका जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो । कार्यालयले विगत वर्षमा भेडाको संरक्षण र संवद्र्धनका लागि ‘थुमा’ वितरण गरेको थियो । जिल्लामा भेडाको व्यावसायिक उत्पादन, संरक्षण तथा संवद्र्धनका लागि सरकारी कार्यक्रम नभएको उहाँले बताउनुभयो । 

“जिल्लामा कतिको संख्यामा भेडापालन गरिएको छ भन्ने तथ्याङ्क छैन,” उहाँले भन्नुभयो । भेडाको बोकालाई थुमा भनिन्छ । अहिले यस सम्बन्धी कुनै पनि कार्यक्रम कार्यालयसँग छैन । नागरिकले मासु मन नपराएका कारण तथा गुणस्तरीय ऊन उत्पादन गर्न नसक्दा भेडापालन घट्दै गएको सापकोटाको भनाइ छ । 

ऊन कृषकका लागि आम्दानीको दरिलो स्रोत मानिन्छ । भेडाको ऊन विभिन्न लुगा, राडीपाखीका लागि प्रख्यात मानिन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!