धानमा आत्मनिर्भर बनाउन बर्दियामा चैते धान खेती

Posted on: 16 Apr, 2017

बैशाख ३, बर्दिया । नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको बृहत्तर धान विस्तार योजनाअन्तर्गत बर्दियामा पनि चैते धान खेती सुरु गरिएको छ । 

हाल जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका पाताभार, गोला, पशुपतिनगर, मनाउ र खैरिचन्दनपुरका करिब ६ सय बिघा जमिनमा चैते धान खेती गरिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । कृषि प्रधान देश भनिए पनि नेपालमा वार्षिक रु २५ अर्ब बराबरको धान भारतबाट खरिद हुने गरिएको सो कार्यालयको भनाइ छ । 

सरकारले आउँदो दुई वर्षभित्रमा नेपाललाई धानमा आत्मनिर्भर बनाई तीन वर्षपछि निर्यात गर्ने उद्देश्यले तराईका जिल्लामा बृहत्तर धान उत्पादन योजना सुरु गरेको हो । सरकारी लक्ष्य पूरा गर्ने उद्देश्यले चैते धान सुरु गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतले बताउनुभयो । हाल सामान्यरुपमा चैते धानमा गवारो किराको प्रकोप देखिए .पनि नियन्त्रणका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो । 

सो कार्यालयसँगको समन्वयमा सिसा सिमिट नेपालले किसानलाई आधुनिक उपकरण र इरी नेपालले धानको बीउ उपलब्ध गराएको छ । हाल किसानले हर्दिनाथ १ र चैते २ जातका चैतेधान खेती गरेका छन् । जेठको अन्तिम वा असारको पहिलो हप्ताभित्र चैते धान काटिने र वर्षे धान खेतीमा कुनै असर नपुग्ने भएकाले पनि चैते धान खेतीमा किसानलाई थप फाइदा पुग्ने कृषि प्राविधिक बताउँछन् । 

गत वर्ष दुई बाली मात्र खेती गरेका किसानले यस वर्ष चैते धान खेतीसमेत गरेपछि तीन बाली घरमा भित्र्याउन पाउँदा खुसी भएका छन् । चैते धान खेतीका लागि बाह्रै महिना सिँचाइ सुविधा भएको जमिन चहिने भएकाले राजापुर क्षेत्रमा बृहत्तर धान योजना सुरु गरिएको हो । 

आगामी दिनमा अन्य क्षेत्रमा समेत धान खेती विस्तार गर्दै लैजाने सो कार्यालयको योजना छ । धानलाई आवश्यक पर्ने मलको व्यवस्था भइदिए राम्रो हुने गेरुवा गाउँपालिका–१ जनकनगरका किसान भोगूप्रसाद थारू बताउनुहुन्छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!