नेपाल खाद्य संस्थान धान खरिद गर्न असमर्थ

Posted on: 22 Feb, 2017

फागुन ११, वीरगन्ज । व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाल खाद्य संस्थान वीरगन्ज शाखा यस वर्ष धान खरिद गर्ने लक्ष्य हासिल गर्न असमर्थ रहेको छ । 

संस्थानले चालु आवमा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा हालसम्म रु दुई करोड सात लाखको नौ हजार क्विन्टल मात्र खरिद गर्न सकेको छ । संस्थानले तोकेको मूल्यभन्दा गल्ला व्यापारीले बढी मूल्य दिने भएका कारण यस वर्ष लक्ष्य प्राप्त गर्न नसकिएको शाखा प्रमुख पवित्र गौतमले बताउनुभयो । 

संस्थानले सोना मन्सुली प्रति क्विन्टल रु दुई हजार ३०० र जिरा मसिनो धान प्रति क्विन्टल रु दुई हजार ८७५ मूल्य तोकेको थियो । सो मूल्य बजार मूल्यभन्दा करिब १० प्रतिशत कम भएका कारण उत्पादन गरेको धान संस्थानलाई नभइ गल्ला व्यपारीलाई बिक्री गरेको किसान शेषमन पण्डितले बताउनुभयो । 

गल्ला व्यापारीले अहिले किसानबाट सोना मन्सुली धान प्रति क्विन्टल रु दुई हजार ५०० तथा जिरा मसिनो धान प्रति क्विन्टल रु तीन हजार एक सयको दरले खरिद गर्दै आएको छ । सरकारले तोकेकोभन्दा बढी मूल्यमा धान खरिद गर्न संस्थान असमर्थ रहेको छ । 

मूल्य संशोधन गर्ने प्रक्रिया जटिल भएकाले मूल्य बढाउन नसकिएको गौतम बताउनुहुन्छ । संस्थानसँग गत वर्षको सोना मन्सुली धान चार हजार क्विन्टल तथा जिरा धान दुई हजार क्विन्टल मौज्दात छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!