सिन्धुपाल्चोकको थाङ्पालकोट अब अलैँची पकेट क्षेत्र बन्यो

Posted on: 28 Jan, 2017

माघ १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविसलाई शुक्रबार अलैँची पकेट क्षेत्र घोषणा गरियो । 

जिल्ला कृषि विकास कार्यालय र टालटुलेश्वरी लघु उद्यमी समूह थाङ्पालकोटद्वारा आयोजित घोषणा कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले अलैँची खेतीे निकै विस्तार भएका कारण थाङ्पालकोटलाई अलैँची पकेट क्षेत्र घोषणा गरेको बताउनुभयो । 

उक्त गाविसमा विगत १० वर्षदेखि अलैँचीखेती हँुदै आएको लघु उद्यमी अलैँची समूहका अध्यक्ष दोगदोग तामाङले बताउनुभयो । थाङ्पालकोटमा अलैँची उत्पादन फस्टाउनुका साथै यसको उत्पादनमा क्रमिक वृद्धि भइरहेको यहाँका कृषकले बताएका छन् । उक्त गाविसका धेरै कृषक अलैँची उत्पादनबाट आत्मनिर्भर बनेका छन् । 

थाङ्पालकोटमा मात्रै ९०० रोपनीमा अलैँचीखेती भइरहेको छ । यस जिल्लाका बरुवा, चोकटीलगायतका ठाउँमा समेत अलैँचीखेती हुँदै आएको छ । 

विगत वर्षको तुलनामा यो वर्ष अलैँचीको भाउ घटेको यहाँका किसानले बताएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!