तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार

Posted on: 22 Nov, 2016

मङ्सिर ७, पाँचथर । व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका जिल्लाका तीनजना कृषकलाई यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । 

पाँचथरको फिदिममा सोमबार आयोजित एक कार्यक्रमका बीच पाँचथर भारपा–८ का लिलाप्रसाद अधिकारी, अमरपुर–६ का पुण्यप्रसाद सुवेदी र कुरुम्वा–४ की इन्द्रकुमारी लावतीलाई जनही नगद रु १० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । 

जिल्ला कृषि विकास कार्यालय, पाँचथरले विश्व खाद्य दिवसको सन्दर्भमा आयोजना गरेको एक समारोहबीच उनीहरुलाई पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो । 

उनीहरुले आधुनिक कृषि प्रविधिबाट तरकारी, फलफूल र सुन्तलाखेती गर्दै आम्दानीको स्रोत बढाउनका साथै समाजमा रहेका सर्वसाधारणलाई त्यसतर्फ अग्रसर हुने बाटो देखाएकाले पुरस्कृत गरिएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताउनुभयो । 

उनीहरुलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानीय विकास अधिकारी भानुभक्त बरालसहित जिल्लाका राजनीतिक दलका प्रमुखले अबीर र फूलमाला लगाइदिएर सम्मान समेत गर्नुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!