धादिङका कृषक, बिद्यार्थी र पत्रकार पुरस्कृत

Posted on: 25 Oct, 2016

कात्तिक ९, धादिङ । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालयद्वारा २५ कृषक, चार विद्यार्थी र एक पत्रकारलाई सोमबार पुरस्कृत गरिएको छ । 

जिल्लामा कृषि क्षेत्रसँग आबद्ध सरकारी कार्यालय गैरसरकारी सङ्घसंस्थाहरुको समन्वयमा कार्यालयले स्थानीय विकास अधिकारी भगवान अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रजिअ विश्वप्रकाश सुवेदीले नगद पुरस्कारसहित प्रशंसापत्र, सम्मानपत्र र कदरपत्र प्रदान गर्नुभयो । 

रु १० हजार राशिको पुरस्कार र सम्मानपत्रद्वारा नलाङ–१ का कृषक केशव अर्याल, कुम्पुर–३ का दीपक श्रेष्ठ र बेनीघाट–१ का अर्जुन त्रिपाठीलाई उष्कृष्ट राष्ट्रिय कृषक सम्मानबाट पुरस्कृत गरियो । 

त्यस्तै कृषि क्षेत्रको विकासका लागि पत्रकारिताका क्षेत्रबाट योगदान पुर्याए बापत ‘अन्नपूर्ण पोस्ट’का समाचारदाता मनीष दवाडीलाई रु तीन हजार पुरस्कारसहित कदरपत्रद्वारा र विश्व खाद्य दिवसको नारा ‘भइरहेछ जलवायु परिवर्तन गर्नु छ खाद्य र कृषिमा अनुकूलन’ मा आधारित अन्तरमावि निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय र सान्त्वना पाउने चार छात्रछात्रालाई पनि पुरस्कृत गरिएको थियो । 

निबन्ध प्रतियोगितामा बागेश्वरी मावि बेनीघाटका नवीनकुमार त्रिपाठी प्रथम भएका थिए । कार्यक्रममा धान, मकै र गहुँ बाली उत्पादक उत्कृष्ट कृषक १२ जनालाई र कृषि क्षेत्रका अगुवा कृषकमध्येबाट तरकारी, माछापालन, गाई, बङ्गुर, बाख्रापालन, सुन्तलाखेती घाँसको बीउ उत्पादक १० कृषकलाई पनि सम्मानपत्रका साथ पुरस्कृत गरिएको थियो । रासस 

माथीको तश्विरमा: कृषि क्षेत्रको विकासका लागि पत्रकारिताका क्षेत्रबाट योगदान पुर्याए बापत पुरस्कृत बनेका ‘अन्नपूर्ण पोस्ट’का समाचारदाता मनीष दवाडी सम्मान तथा पुरष्कार ग्रहण गर्दै । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!