के गर्मीमा कोरोना भाइरसको महामारीमा कुनै फरक पर्ला ?

Posted on: 10 Apr, 2020

चैत २८, काठमाडौँ |  गत तीन महिनादेखि फैलिएको कोरोना भाइरसको कारण यतिबेला विश्वलाई त्रास पैदा गर्दै गर्दा गर्मी मौषममा कोरोनाको प्रभाव घट्ने भन्दै केहि समय अघि भनिएका थिए । यस विषयमा धेरै आशा गरिए पनि एकिन रुपमा गर्मी मौषममा कोरोना संक्रमणको विषयमा यथार्थ कुरा बाहिर आउन सकेको छैन । यसै विषयलाई बीबीसीका एक जना संवाददाता रेचल श्राअरले लेखेका छन् । 

रिपोर्ट अनुसार नयाँ कोरोनाभाइरस मौसमी हो कि हैन भन्न अहिले हतार हुने भनिएको छ । यसको मतलव यसको यथार्थता बुझ्नको लागे अझै केहि समय कुर्नुपर्ने हुन्छ । 

श्राअरले आफ्नो समाचारमा मौषमी अवस्था अनुसार कोरोना भाइरसको संक्रमणको निष्कर्षमा पुग्नका लागि कुनै स्थानमा वर्षभरि सङ्क्रमण कसरी परिवर्तित हुन्छन् भनेर हेर्नुपर्ने उल्लेख छ ।

रिपोर्ट अनुसार अलि चिसो र सुक्खा क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण बढी देखिएको केही प्रमाणहरू छन् । एउटा अध्ययनले मार्च १० सम्म थाहै नपाईकन सामुदायिक रूपमा सङ्क्रमण फैलिएर धेरै प्रभावित भएका देशमा न्यून सङ्क्रमण देखिएका देशको तुलनामा औसत तापक्रम कम भएको देखिएको थियो ।

चालीसभन्दा बढी कोभिड-१९ बिरामी भेटिएका चीनका १०० वटा सहरको स्थिति अध्ययन गरेको अर्को शोधले पनि तापक्रम र आद्रता बढी हुँदा भाइरस विस्तारको गति कम भएको सङ्केत गरेको छ ।


विज्ञहरूले समीक्षा गर्न बाँकी भएको अर्को अध्ययनका अनुसार विश्वभरि नै कोरोनाभाइरस सङक्रमण भेटिएको भए पनि मार्च २३ सम्म "तुलनात्मक रूपमा चिसो र सुक्खा क्षेत्रमा" मात्र प्रकोप देखिएको छ।

लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस अहिले विश्व स्वास्थ्य सङ्गठनले सूचीकृत गरेका सबै भूभाग र क्षेत्रमा पुगिसकेको तथा चिसो र सुक्खादेखि गर्मी र ओसिलो स्थानमा पनि भेटिएको उल्लेख छ ।

रिपोर्ट अनुसार पहिला एक स्थानबाट अर्को स्थानमा गएका मानिससँगै फैलिएको उक्त भाइरस मौसम परिवर्तन हुँदै गर्दा क्रमशः विश्वभरि नै फैलिएको छ। त्यसैले हावापानीका कारण हुने प्रभावबारे निष्कर्ष निकाल्न कठिन छ ।

कोरोनाभाइरस परिवारका अन्य भाइरसहरू प्रायः जाडो महिनामा फैलिने केही प्रमाण फेला परेको यूनिभर्सिटी कलेज लन्डन तथा लन्डन स्कूल अफ हाईजीन र ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूको दाबी छ । अनुसन्धानकर्ताहरूले मौसमी फ्लूसँगै कोरोनाभाइरसहरू पनि जाडो बेलामा उत्कर्षमा पुग्ने देखिएको थियो भने गर्मीयाममा कोरोनाभाइरसहरूको सङ्ख्या कम थियो ।

उक्त अनुसन्धानमा सहभागी वैज्ञानिक एलन फ्र्याग्यास्जीका अनुसार त्यसैले गर्मीमा केही कम सङ्क्रमण देखिने सम्भावना हुन सक्छ । तर Sars-CoV-2 नाम दिइएको यो नयाँ भाइरसले कस्तो व्यवहार देखाउँछ त्यो भन्न सकिने स्थिति छैन। 

- बिबिसीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!