नेपाल टेलिकमले ल्यायो अटम र फेस्टिवल अफर, यस्ता छन् सुविधा

Posted on: 15 Oct, 2020

असोज २९, काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ । कम्पनीले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा जोडेर एकैपटक दुइ अफर उपलव्ध गराउने भएको हो । 

अटम अफर

अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुने कम्पनीले नाएको छ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँ मा युट्युव अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ । यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने १ जिबी डाटाको एड अन प्याक खरिद गर्न सकिने जनाइएको छ ।

त्यस्तै, ४० रुपैयाँमा ३ दिनका लागि ७० मिनेट र १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने जनाइएको छ । कम्पनीले ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा १ सय एमबी प्राप्त गर्न सकिने जनाइएको छ । ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ५ सय एमबी र वान डे डाटा प्याक अन्तर्गत १० रुपैयाँमा १ सय २० एमबी र १५ रुपैयाँमा २ सय ५० एमबी डाटा उपलब्ध हुने जनाइएको छ । 

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् । त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत राखिएका छन् । 

यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक रु. १५ मा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ रु. ६० मा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ । वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिले भन्दा बढी हुने भएको छ । यस अन्तर्गत रु. १० मा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र रु. १८ मा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज रु. १५ मा उपलब्ध हुनेछ ।

फेस्टिभल अफर

फेस्टिभल अफरका रुपमा दशै/तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम/सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराउने जनाइएको छ । यसमा रिचार्ज कार्डबाट ५० वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुने कम्पनीले जनाएको छ ।

रिचार्जकार्डबाट १ सय वा एमपोसबाट ५१ देखि १ सय रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट २ सय वा एमपोसबाट १ सय १ देखि २ सय रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट २ सय १ देखि ४ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

यसैगरी, रिचार्ज कार्डबाट ५ सय वा एमपोसबाट ५ सय देखि ९ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस र रिचार्ज कार्डबाट १ हजार वा एमपोसबाट १ हजार रुपैयाँ वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १ सय मिनेट बोनस प्राप्त हुने कम्पनीले जनाएको छ ।

अन्य अफरहरु

२०७७ कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डाटा एक पटकका लागि निशुल्क प्राप्त हुनेछ । यसैगरी  *444# डायल गरी फोरजी सेवामा सिमकार्ड स्तरोन्नती गर्दा एक पटकका लागि ५०० एमबी (सबै नेटवर्कमा) र थप ५०० एमबी डाटा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने गरी निःशुल्क प्राप्त हुनेछ । 

यसअघि विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहक महानुभावका लागि उपलब्ध हुनेछ । यो प्याक लिनका लागि सम्बन्धित निकायको सिफारिश आवश्यक पर्ने व्यवस्था हटाइएको छ । 

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एप बाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।  





यस बिषयमा तपाइको प्रतिक्रिया...!