आइफोन ११ को सफलताले एप्पलको मूल्य एक वर्षयताकै उच्च

Posted on: 11 Oct, 2019

असोज २४, काठमाडौँ | अमेरिकी कम्पनी एप्पलको शेयर मूल्य बिहिबार सन् २०१९ कै उच्च विन्दुमा पुगेको छ । बिहीबार एप्पलको शेयर मूल्य २ सय ३० डलर नाघेको हो ।

आइफोन ११ को मागमा भएको वृद्धिको समाचार सार्वजनिक भएसँगै एप्पल कम्पनीको शेयर मूल्यमा डेढ प्रतिशतले बढोत्तरी भएको छ ।

विश्लेषकहरुले आगामी दिनमा एप्पलको शेयर मूल्य निरन्तर उकालो लाग्ने प्रक्षेपण गरेका छन् । बजेट मूल्यको आइफोनप्रति खासगरी चिनिया प्रयोगकर्ताहरु बढि आकर्षित भएका कारण एप्पलले पछिल्लोपटक आइफोन ११ को उत्पादन बढाउने घोषणा गरेको थियो । एप्पलले आफ्ना आपूर्तिकर्तालाई आइफोन ११ को उत्पादन १० प्रतिशतले अर्थात् ८० लाख गोटाले वृद्धि गर्न आग्रह गरेको थियो ।


आइफोन ११ को सुपथ मूल्यसँगै उच्चस्तरको क्यामरा फिचर तथा धेरै कलर अप्सनका कारण उपभोक्ताहरुले यो सिरिजका आइफोन मन पराएका छन् । सन् २०२० भरमा गरी साढे १८ करोड गोटा आइफोन बिक्रि हुने एप्पलको प्रक्षेपण रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!