७ वटा क्यामरा भएको स्मार्टफोन ल्याउँदैछ हुवावे, सेल्फी क्यामरा मात्रै ३ वटा

Posted on: 05 Sep, 2019

भदौ १९, एजेन्सी | चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्नो बहुप्रतिक्षित नयाँ स्मार्टफोन आगामी १९ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । जर्मनीको म्युनिखमा विशेष कार्यक्रम गरी हुवावेले मेट ३० सिरिजको स्मार्टफोन लञ्च गर्ने तयारी गरेको छ ।

त्यस अवसरमा हुवावेले तीन प्रकारका स्मार्टफोन लञ्च गर्नेछ । त्यसमा हुवावे मेट ३०, हुवावे मेट ३० प्रो र हुवावे मेट ३० लाइट हुनेछन् । मेट ३० प्रो स्मार्टफोनका विषयमा अहिलेसम्म धेरै तथ्यहरु बाहिर आइसकेका छन् ।

उक्त फोनमा फाइभ के रिजोलुसन तथा ३६० डिग्री क्यामरा रहनेछ । साथै फोनमा मेट २० मा जस्तै प्रिमियम ग्लास तथा मेटल बडी रहनेछ ।

यसभन्दा महत्त्वपूर्ण तथा खास विशेषता चाहिँ उक्त फोनको क्यामरा नै हुनेछ । मेट ३० स्मार्टफोनमा कुल ७ वटा क्यामरा हुनेछन् । तीमध्ये ४ वटा क्यामरा पछाडिको भागमा हुनेछन् भने सेल्फी खिच्नका लागि ३ वटा क्यामराचाहिँ स्क्रिनतर्फको भागमा राखिनेछ । मुख्य क्यामरा ४० मेगापिक्सेलको हुने बताइएको छ ।

मेट ३० सिरिजका स्मार्टफोन वाटरफल स्क्रिन डिजाइनमा उपलब्ध हुनेछन् । सामसुङले यसअघि आफ्ना फ्लागसीप स्मार्टफोनमा उक्त डिजाइनको स्क्रिन प्रस्तुत गरिसकेको छ ।

हुवावे मेट ३० मा ६.७१ इन्चको ओएलइडी डिस्प्ले हुनेछ । त्यस्तै ४५ सय मिलिएम्पियर आवरको ब्याट्री रहनेछ । स्मार्टफोनको इन्टर्नल स्टोरेज १२८ जिबी र र्याम ८ जिबीको हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!