नेपाल टेलिकमको ८७ देशमा रोमिङ सेवा, शुल्कमा एकैचोटी भारी छुट

Posted on: 12 Aug, 2019

साउन २७, काठमाडौँ | नेपाल टेलिकमले हाल विश्वभरका ८७ मुलुकमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमले ती देशका १९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी सो सेवा उपलब्ध गराएको हो । 

तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरिएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । कम्पनीका जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा यो सहुलियत प्रदान गरिएको हो । कम्पनीले गत वैशाख १६ गतेदेखि जिएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि पनि दुई छिमेकी मुलुक चीन र भारतमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ । 

“जिएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेको अन्तर्राष्ट्रिय रोमिङ सुविधा पश्चात भारतमा जाँदा नेपाललगायत जुनसुकै मुलुकबाट आएको आगमन कलको शुल्क प्रतिमिनेट करसहित जम्मा रु १४ मात्र लाग्छ”, प्रवक्ता वैद्यले भन्नुभयो । यसैगरी भारतमा रहँदा उक्त सेवामार्फत नेपालमा वा भारतमा फोन गर्दा प्रतिमिनेट करसहित रु ३० लाग्नेछ भने जम्मा रु २४ मा विश्वभर सन्देश (एसएमएस) पठाउन सकिनेछ । साथै निशुल्क सन्देश पनि प्राप्त गर्न सकिनेछ । 

यसका साथै उत्तरी छिमेकी मुलुक चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट रु ९० र नेपाललगायत विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट रु ५३ मात्र लाग्ने छ । यसैगरी चीनभरी जुनसुकै नम्बरमा (कम्पनीको जिएसएम प्रिपेड मोबाइलमा समेत) कुरा गर्दा प्रतिमिनेट रु ५० र त्यहाँबाट विश्वभर जम्मा रु ५४ मा सन्देश पठाउन सकिने छ । 

कम्पनीले जीएसएम पोष्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कलाई रु ३० हजारबाट घटाएर रु १० हजार मात्र कायम गरेको छ । साथै कम्पनीका जिएसएम प्रिपेड मोबाइल सेवा प्रयोगकर्ताले थप धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् ।  

रोमिङ सुविधा लिएपछि नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाललगायत विश्वभरका मुलुकमा फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थानीय मोबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदानप्रदान गर्न सकिनेछ । 

प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि स्टार १४१५ ह्यास डायल गर्नुपर्दछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी सेवा लिन सकिन्छ । पोष्टपेड मोबाइलमा सुविधा लिनका लागि कम्पनीको नजिकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्दछ । नेपाल टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!