गुगलमा ‘ट्वाइलेट पेपर’ सर्च गर्दा पाकिस्तानको झण्डा !

Posted on: 20 Feb, 2019

फागुन ८, काठमाडौं । गुगलमा ‘बेस्ट ट्वाइलेट पेपर इन द वर्ल्ड’सर्च गर्दा पाकिस्तानको झण्डा देखिन्छ । यस विषयलाई लिएर गुगलको आलोचना भएको थियो । गुगलले भने ‘ट्वाइलेट पेपर’ सर्च गर्दा पाकिस्तानको झण्डा देखिनुमा आफूहरु जिम्मेवार नभएको स्पष्टीकरण दिएको छ ।


गुगलका प्रवक्ताले भनेका छन्, ‘गुगलमा ट्वाइलेट पेपरको ठाउँमा पाकिस्तानको झण्डाको तस्वीर देखिएको प्रमाण अझैसम्म फेला परेको छैन । यद्यपि यस विषयमा अनुसन्धान जारी छ ।

मिडिया रिपोर्टर्स र अन्य धेरै व्यक्तिहरुले सामाजिक सन्जालमा लेखिएअनुसार १४ फेब्रुअरीमा जम्मु काश्मिरको पुलवा जिल्लामा आक्रमणपछि गुगलमा ‘Best toilet paper in the world’ सर्च गर्दा पाकिस्तानको झण्डाको तस्वीर देखिएको थियो ।

धेरै व्यक्तिहरुले सर्च रिजल्टको स्क्रिन सट फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सन्जालहरुमा शेयर गरेका छन् । ट्वीटरमा #Best_toilet_paper_in_the_world ह्यासट्याग ट्रेन्डिङमा पनि देखिएको थियो ।

गुगलका प्रवक्ताले भनेका छन्- जबदेखि यो खबर भाइरल भयो त्यही बेलादेखि ति सबै फोटोको र्‍याङ्किङ जाँच भइरहेको छ । तर के हो भने गुगलको सर्च रिजल्ट अर्बौं की-वर्ड्सको र्‍याङ्किङको आधारमा देखिन्छ । यो र्‍याङ्किङ व्यापकता र लोकप्रियता जस्ता दुई सय वटा कारणबाट तय हुन्छ ।’

गुगलमा एउटा कुरा सर्च गर्दा अर्कै देखिनु पहिलो पटक भने होइन । यसअघि ‘फेकु’, ‘पप्पु’ र ‘इडियट’ शब्द सर्च गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखिन्थे । यस्तै ‘भिखारी’ शब्द सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्वीर देखिन्थ्यो ।

‘इडियट’ शब्द सर्च गर्दा ट्रम्पको फोटो देखिएपछि अमेरिकी सांसदहरुले गुगलका सीईओ सुन्दर पिचाईसँग जवाफ मागेका थिए । त्यतिबेला पिचाईले भनेका थिए- सर्च रिजल्टसँग मजाक गर्न गुगल या गुगलका कर्मचारीहरुका लागि सम्भव छैन । सर्च रिजल्ट त अल्गोरिदम (गणना गर्ने कम्प्युटरको विधि) बाट देखिन्छ न कि कर्मचारीहरुबाट ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!