फेसबुकमा यस्तो समस्या उत्पन्न हुँदै, जर्मनीले दियो कडा आदेश !

Posted on: 11 Feb, 2019

माघ २८, काठमाडौं । फेसबुकले आफ्ना दुई अर्ब भन्दा धेरै प्रयोगकर्ताका डाटाहरुको बलमा आफ्ना विशाल विज्ञापन व्यवसाय स्थापित गरेको छ । तर फेसबुकको यहीँ विशाल डाटाबेस उसका लागि सबैभन्दा ठूलो समस्या बन्ने भएको छ ।

गत बिहीबार यसको एउटा प्रष्ट संकेत देखा परेको छ । जर्मन सरकारले फेसबुकमाथि आफ्नो बजारको आधिपत्यलाई दुरुपयोग गरेको आरोप लगाउँदै आफ्नो विज्ञापन बजारलाई मजबुत बनाउनका लागि आफ्ना अन्य सोसल मिडिया प्लाटफर्महरु र थर्ड पार्टी वेबसाइटहरुका डाटाहरुको दुरुपयोग नगर्न आदेश दिएको छ ।

फेसबुकले आफ्नो विज्ञापन व्यवसायलाई बढाउनका लागि फेसबुक मात्र नभै इन्स्टाग्राम, ह्वाट्सएप जस्ता आफ्नै सोसल मिडिया एपहरु तथा अन्य थर्ड पार्टी वेबसाइटमा रहेका प्रयोगकर्ताका डाटाहरुको समेत उपयोग गर्ने गरेको छ । जर्मन सरकारको यस्तो आदेशपछि अब फेसबुकले फेसबुकको प्लाटफर्ममा विज्ञापनका लागि अन्य एप तथा वेबसाइटका डाटाहरुको प्रयोग गर्न नपाउने भएको छ ।

यसले फेसबुकको विज्ञापन बजारमा असर पार्ने र फेसबुकमाथि दबाब सिर्जना हुने विज्ञहरुको भनाई छ ।

फेसबुक प्रयोग गर्नका लागि मानिसहरुले पैसा तिर्नु पर्दैन । तर वास्तवमा फेसबुक प्रयोगकर्ताले आफ्ना डाटाहरु फेसबुकलाई प्रदान गरेर त्यसको मूल्य चुकाएका हुन्छन् । फेसबुकले प्रयोगकर्ताका यस्तै डाटाहरुको विश्लेषण मार्फत विज्ञापनदाताका विज्ञापनहरु लक्षित प्रयोगकर्तासम्म पुराएर मोटो रकम कमाउने गरेको छ ।

अर्ब भन्दा धेरै प्रयोगकर्ता भएका इन्स्टाग्राम र ह्वाट्सएप समेत आफुमा विलय गराएपछि फेसबुक कम्पनी विश्वका अर्बौँ मानिसका डाटाको भण्डार बनेको छ ।

जर्मन सोसल मिडिया नियामकका अनुसार फेसबुकले अहिले जर्मनीको सोसल मिडिया बजारको ९५ प्रतिशत हिस्सा ओगटेको छ । यसको अर्थ ९५ प्रतिशत जर्मनहरुले या त फेसबुकसँग आफ्ना डाटा शेयर गर्नुपर्दछ, या त सोसल मिडिया नै नचलाइकन बस्नु पर्दछ । स्नापच्याट, युट्युब तथा टि्वटर जस्ता प्लेटफर्मले प्रयोगकर्तालाई फेसबुकको जस्तो सेवा उपलब्ध नगराउने भएको हुँदा ती प्लाटफर्मलाई सोसल मिडिया बजारमा समावेश गर्न नसकिएको उक्त निकायको भनाई छ । सोही कारण फेसबुकसँग बजारमा प्रतिस्पर्धाका लागि अरुलाई समस्या भएको छ ।

नियामक निकायले फेसबुक कम्पनीलाई आफ्ना प्रयोगकर्ताको डाटा संकलन गर्न तथा अन्य प्लेटफर्मका डाटाहरुलाई एकत्रित गर्नका लागि प्रयोगकर्ताको सहमति अनविार्य रुपमा लिन समेत आदेश दिएको छ ।

फेसबुकले भने जर्मन सरकारको यस्तो आदेश प्रति असहमति जनाउँदै त्यस विरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।

साथै फेसबुकले आफु विरुद्ध जर्मन निकायले अस्वभाविक मादपण्ड लाद्ने कोसिस गरेको आरोप लगाएको छ ।

उता युरोपेली आयोगले जर्मन सरकारले पछिल्लो निर्णयलाई नोट गरेको प्रतिक्रिया दिएको छ । जर्मनीको निर्णयपछि अब युरोपेली आयोगले पनि त्यस्तै खालको अनुसन्धान अगाडि बढाउने सम्भावना रहेको बताइएको छ ।

युरोपेली आयोगसँग गोपनियताको आधारमा फेसबुकमाथि कारवाही गर्ने अधिकार नभएतापनि प्रतिस्पर्धा कानूनको आधारमा छानविन र कारवाही गर्ने पनि प्रसस्त अधिकार रहेको छ ।

प्रतिस्पर्धा कानूनको उल्लंघन गरेमा कम्पनीमाथि विश्वव्यापी आम्दानीको १० प्रतिशत जरिवाना तथा कम्पनीकै कारोबार रोक्ने सम्मको निर्णय युरोपेली आयोगले गर्न सक्दछ ।

पछिल्लो समयमा विश्वमा फेसबुकको पावरमाथि पावन्दी लगाउनुपर्ने आवाज चर्को बनिरहेका बेला युरोपेली मुलुक जर्मनीले चालेको कदम एउटा सुरुवातको रुपमा रहेको कतिपयको विश्लेषण छ ।

सिएनएनबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!