आईपीएल क्रिकेट: चेन्नईलाई पराजित गर्दै मुम्बई शिर्ष स्थानमा

Posted on: 24 Oct, 2020

कात्तिक ८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) सिजन १३ अन्तर्गत शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ । चेन्नईसंगको जितसंगै ७ खेलमा जित्दै मुम्बईले १४ प्वाइन्ट बनाएको छ । साथै आइपीएलको जारी सिजनको शिर्ष स्थानमा उक्लिएको छ । 

शुक्रबारको खेलमा मुम्बईले एक विकेट पनि नगुमाइ १२.२ ओभरमा ११५ रनको लक्ष्य पूरा गर्यो । मुम्बईको जितमा इशान किसन ६८ र क्विन्टन डिकक ४६ रनमा नटआउट रहे ।

यो जितसँगै मुम्बई अंक तालिकामा १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाई ६ अंकसहित सबैभन्दा पुछारमा रहेको छ ।


टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन मात्र बनाउन सकेको थियो । चेन्नईको लागि साम करनले ५२ रन बनाए तर अन्य प्रदर्शन खराब रह्यो ।

चेन्नईको खेलमा ओपनर ऋतुराज गायकवाड पहिलो ओभरमै खाता नखोली आउट भए । उनलाई ट्रेन्ट बोल्टले एलबीडब्ल्यू धरापमा पारे । अर्का ओपनर फाफ डु प्लेसिस पनि ट्रेन्ट बोल्टको बलमा क्याच आउट भएका थिए । उनले १ रनमात्र बनाउन सके ।

त्यसपछि आएका अम्बाती रायडु पनि जसप्रित बुमराहको बलमा क्विन्टन डि ककको हातबाट क्याच आउट भए । अम्बाती रायडुले २ रन मात्रै बनाउन सके ।

त्यसपछि जसप्रित बुमराहले नारायण जगदिशनलाई पनि आउट गरे । उनी सूर्यकुमार यादवको हातबाट क्याचआउट भए । जगदिशन पनि खाता खोल्न नपाइ पेभिलियन फर्किए ।

कप्तान महेन्द्र सिंह धोनी क्रिजमा आउँदा चेन्नईको चार विकेट गुमिसकेको थियो । क्रिजमा धोनी र रविन्द्र जडेजा थिए । तर उनीहरुको साझेदारी पनि टिक्न सकेन । ट्रेन्ट बोल्टको बलमा जडेजा क्याचआउट भए । जडेजाले ६ बलमा ७ रन मात्र बनाउन सके । धोनीलाई साथ दिन आएका थिए साम कुरान । तर धोनी राहुल चहरको बलमा क्याचआउट भए । धोनीले १६ बलमा १६ रन मात्र बनाएर आउट भए ।

धोनी आउट भएपछि ब्याटिङमा आएका दीपक चाहर पनि खाता नखोली आउट भए । चेन्नाईले नौ ओभरमै सात विकेट गुमाइसकेको थियो र स्कोर थियो जम्मा ४४ रन । 

दीपक चाहरपछि आए शार्दुल ठाकुर । उनी २० बलमा ११ रन बनाएर आउट भए । साम कुरान २० औं ओभरमा ट्रेन्ट बोल्टको बलमा आउट भए । उनले ४७ बलमा ५२ रन जोडे । इमरान ताहिर १३ रनमा नटआउट रहे ।

१८ रन खर्चेर ४ विकेट लिएका ट्रेन्ट बोल्ट खेलमा म्यान अफ द म्याच बने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!