नेकपाको बैठक पुनः बुधबारसम्मका लागि स्थगित

Posted on: 06 Jul, 2020

असार २२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते (बुधबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । 

यसअघि यही असार २० गतेलाई बोलाइएको बैठक आजसम्म स्थगन गरिएकामा पुनः बुधबारसम्म स्थगन गरिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो । 

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायतका विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ । 

पार्टीभित्र देखिएको विवाद समाधान गरी बैठक बस्ने तयारी गरिएको छ । अध्यक्षद्वय पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल गरे पनि सहमतिमा पुग्न सक्नुभएको छैन । हिजो आइतबार पनि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो । आज पनि दुई अध्यक्षबीच पार्टीभित्र देखिएका विवाद समाधानका लागि छलफल हुने प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!