नेकपा वैठक: स्थायी समितिमा आज बोल्न पाएका सबै नेताले गरे ओलीको आलोचना

Posted on: 01 Jul, 2020

असार १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको स्थायी समितिको बैठकमा पाँच जना स्थायी समिति सदस्यले आफ्नो धारणा राख्ने क्रममा सबैले ओलीको आलोचना गरेका छन् । आजको वैठकमा नेताहरु योगेश भट्टराई, मात्रिका यादव, लीलामणि पोखरेल, पेशल खतिवडा र नन्दकुमार प्रसाईंले आ–आफ्नो धारणा राखेका थिए । 

आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी निर्वाचन आयोगका दर्ता भएको विषयलाई केन्द्रीत गर्दै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । 

बैठकमा बोल्ने नेताहरुले ओलीको राजीनामा समेत मागेका छन् । नेताहरु लीलामणि पोख्रेल र मात्रिका यादवले आफ्नो धारणा राख्दै ओलीले राजीनामा दिनुको विकल्प नभएको धारणा राखेका छन् । 

उता नेकपाका अर्का स्थायी समिति सदस्य नन्द कुमार प्रसाईँले प्रधानमन्त्री ओलीसँग सच्चिने वा राजीनामा दिनुपर्ने विकल्प रहेको धारणा राखेका छन् । 

नेकपा वैठकमा पाँच नेताहरुले आफ्नो धारणा राखेपछि बैठक स्थगित गरिएको छ । आजको वैठक काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको कारण स्थगित भएको बताइएको छ । 

प्रधानमन्त्री ओलीले आइतबार आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको भन्दै त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएका थिए । त्यसयता नेकपाभित्र ओली आलोचना सुरु भएको छ । 

नेकपा स्थायी समितिको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने तय भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!