देशका प्रमुख नेताहरुले देशद्रोही काम गरे टुडिखेलमा झुण्ड्याउने माओवादी केन्द्रको चेतावनी (विज्ञप्ति

Posted on: 15 Mar, 2020

चैत २, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशको स्वाधिनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको बताएको छ ।

जनयुद्ध दिवसको दिनदेखि झापाको मेची पुल सिमानाबाट २७ दिनमा महाकालीसम्म पैदल यात्रा सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र) ले मुलुकमा देशद्रोही अपराधीक घटनाहरु बढ्दै गएको भन्दै त्यसकालाई नरोकेमा अपराधीहरुलाई टुँडीखेलमा झुण्ड्याएर कारबाही गर्ने चेतावनी दिएको छ ।

मेची–महाकाली पैदल यात्रा अन्तर्गत २७ दिनसम्म लगातार पैदल यात्रा सम्पन्न गरेको विषयमा जानकारी दिन आज काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले त्यस्तो वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशद्रोहीको अपराध गरेमा पार्टीले निर्माण गर्ने देशभक्त जनसेनाले टुँडीखेलमा झुण्डयाएर कारबाही गर्ने बताएका हुन् ।

अध्यक्ष किरातीले देशको स्वाधिनता र जनताको सार्वभौमिकताको रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको भन्दै देशद्रोही अपराधीहरुलाई आफ्नो पार्टीले ठिक पार्ने बताए । उनले भने - 'देशको स्वाधीनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्बहारावर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको छ । यद्यपि जनसेना निर्माण कहिले र कसरी गर्ने भन्ने सम्बन्धमा पार्टीमा व्यवस्थित छलफल एवं नेपाली जनसमुदायमाझ बहस अभियान सञ्चालन गरी शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा अघि बढ्नुपर्छ ।' 


अध्यक्ष किरातीले ईन्डो–प्यासिफिक सैन्य रणनीति र एमसिसी सम्झौताद्वारा नेपाललाई साम्राज्यवादी युद्धको अखडा बनाउन उद्दत अमेरिकी साम्राज्यवाद र नेपाली भूमि हडप्ने भारतीय विस्तारवादीका विरुद्ध देशभक्त जनप्रतिरोध सँस्कृति निर्माणको सन्देश स्थापित गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको बताए ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकीले पछिल्लो चरणमा राष्ट्रघात, जनघातका गतिविधिहरु बढ्दै गएको बताएका छन् । उनले आफ्नो पार्टी राष्ट्रिय स्वाधिनताको पक्षमा रहेको र त्यसका लागि आम जनताको अपार मायाँ र स्नेहका साथ अघि बढ्ने बताए । उनले अहिलेको शासक वर्गले मुलुकमा फेरी द्वन्द्व र युद्ध चाहेजस्तो हर्कत गरिरहेको भन्दै सम्वेदनशिल भएर सोच्नु जरुरी रहेको बताए ।

पत्रकार सम्मेलन कार्यक्रमका बीच माओवादी केन्द्रले कोरोना भाइरसको सक्रमणको विषयमा पार्टी पंक्ति र आम नागरिकमा सतर्कता अपनाउन आह्वान गर्दै हात मिलाउने प्रचलन अन्त्य गरी पार्टी अभिवादन, लालसलाम र सामाजिक शिष्टाचारमा नमस्ते, सेवारो, जोजोलपा अख्तियार गर्न समेत आग्रह गरेको छ ।

हेर्नुहोस् माओवादी केन्द्रद्वारा जारी विज्ञप्ति: 

नेपाली जनता समक्ष देशभक्तिपूर्ण सँस्कृति निर्माणको सशक्त आह्वान गर्दै नेकपा (माओवादी केन्द्र) ले मेची–महाकाली देशभक्त जनसाँस्कृतिक अभियान प्रारम्भ गरियो । २५ औं जनयुद्ध दिवसको अवसरमा ०७६ फागुन १ गते पूर्वको मेचीनगरमा उद्घाटन गरी २७ गते पश्चिमको महाकालीनगरमा समापन गरिएको पैदल यात्राको अभियान कष्टसाध्य र गौरवपूर्ण रह्यो । केन्द्रीय अभियान टोलीमा पार्टी अध्यक्ष क. गोपाल किराती, प्रदेश १ अध्यक्ष क. विमल निरौला, प्रदेश ३ उपाध्यक्ष क. प्रकाश दाहाल, राष्ट्रिय पहिचान मोर्चाका प्रतिनिधि तथा किराती राट्रिय मुक्ति मोर्चाका अध्यक्ष क. शाहस राई र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष क. कुमार राई बान्तवा हुनुहुन्थ्यो । उक्त अभियानमा प्रदेश २ अध्यक्ष क. बब्लु ठाकुर, प्रदेश ५ अध्यक्ष क. अबिन गोतामे र पार्टी उपाध्यक्ष तथा प्रदेश ७ ईन्चार्ज क. रंगनाथ ढकाल लगायत सम्बन्धित प्रदेशमा दर्जनौ कम्रेडहरुले ऐतिहासिक यात्रा गर्नु भयो । 

मेची–महाकाली पैदल यात्राको माओवादी अभियान ईन्डो–प्यासिफिक सैन्य रणनीति र एमसिसी सम्झौताद्वारा नेपाललाई साम्राज्यवादी युद्धको अखडा बनाउने अमेरिका तथा नेपाली भूमि हडप्ने विस्तारवादी भारत विरुद्ध देशभक्त जनप्रतिरोध सँस्कृति निर्माणको सन्देश स्थापित गर्न सफल रह्यो । हात्ती र बाघको जोखिमका कारण निकुञ्ज ईलाकामा बस÷गाडी प्रयोग गर्नु परेको मेची–महाकाली पैदल अभियान नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा अभूतपूर्व राजनीतिक अभियान बन्यो । 

देशभक्त जनसाँस्कृतिक अभियानको प्रारम्भिक चरणलाई निम्न बुँदामा संश्लेषण गर्न सकिन्छ:

१. नेकपा (माओवादी केन्द्र) देश र जनताको पक्षमा फेरी पनि बलिदान गर्न दृढतापुर्वक अग्रसर छ । त्यसर्थमा माओवादी केन्द्र देशको प्रवक्ता बन्न सक्छ । 

२. अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद र स्थानीय दलाल पुँजीवाद विरुद्ध दीर्घकालीन प्रतिरोध संघर्ष लड्न देशभक्त जनसेना निर्माणको अपरिहार्य आवश्यकता छ । 

नेपाली सेना र प्रहरी सरकारी फौज भएकोले सरकारको निर्देशनमा रहनु पर्छ । तर, खड्ग ओली सरकार भने नेपाललाई अफगानिस्तान वा इराक बनाउन खोज्ने अमेरिकी साम्राज्यवाद र सिक्किम, भुटान वा फिजी बनाउन खोज्ने भारतीय विस्तारवाद सामु लम्पसार परेको छ । अतः देशको स्वाधीनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्बहारावर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको छ । यद्यपि जनसेना निर्माण कहिले र कसरी गर्ने भन्ने सम्बन्धमा पार्टीमा व्यवस्थित छलफल एवं नेपाली जनसमुदायमाझ बहस अभियान सञ्चालन गरी शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा अघि बढ्नु पर्छ । 

नेकपा (माओवादी केन्द्र) को उपरोक्त ऐतिहासिक अभियानमा सक्रिय सहयोग गर्ने मित्रहरु र शुभेच्क्षुक सबैमा आभार प्रकट गर्दै विभिन्न स्तरमा जारी देशभक्त जनसाँस्कृतिक अभियानद्वारा कठोर देशभक्त जनसँस्कति निर्माण आन्दोलनमा जुट्न नेपालीजन समक्ष पार्टी केन्द्रीय समिति जोडदार आह्वान गर्दछ । साथै, कोरोना भाइरस विरुद्ध ऐक्यवद्धता जाहेर गर्दै हात मिलाउने प्रचलन अन्त्य गरी पार्टी अभिवादनमा लालसलाम र सामाजिक शिष्टाचारमा नमस्ते/सेवारो/जोजोलपा अख्तियार गर्न पार्टीपंक्ति र समर्थक जनसामुदायमा हार्दिक आग्रह गर्दछ ।  

लालसलाम सहित !

गोपाल किराती 

अध्यक्ष 

२ चैत्र २०७६ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!