गैंडालाई अंग्रेजीमा ‘राइनो’ भनिएको प्रति प्रधानमन्त्रीको असन्तुष्टि

Posted on: 19 Aug, 2019

भदौ २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई अंग्रेजीमा ‘राइनो’ भनिएको प्रति असन्तुष्टि जनाएका छन् । एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गैंडालाई गैंडा नै भन्नु पर्ने जिकिर गरे ।

सम्मेलनमा सहभागी करिब चार सय विदेशी पाहुना अगाडि प्रधानमन्त्रीले भने, ‘गैंडाज आर गैंडाज, नट राइनोज ।’ प्रधानमन्त्री ओलीले सगरमाथालाई पनि ‘माउन्ट एभरेष्ट’ भन्नुको साटो सगरमाथा नै उच्चारण गरिदिनसमेत आग्रह गरे ।

कार्यक्रममा ओलीले पर्यटन नेपालको मुख्य क्षेत्र रहेको भन्दै त्यसको विकासका लागि कनेक्टिभिटीको ठूलो महत्त्व रहेको बताए । नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको उल्लेख गर्दै उनले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएकोसमेत उल्लेख गरे ।

सोमबारदेखि सुरु सम्मेलनमा ४३ देशका ४ सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!