चन्दका कार्यकर्ता कारागारमा

Posted on: 10 Jun, 2019

जेठ २७, हेटौडा | नेत्रविक्रम चन्द नेतृत्व समूहका तीन कार्यकर्तालाई भीमफेदी कारागारमा चलान गरिएको कारागारले जनाएको छ । चन्द समूहका मकवानपुरका इञ्चार्ज वीरबहादुर घलानसहित प्रहरीले पक्राउ गरेका अन्य दुई कार्यकर्तालाई विभिन्न समयमा जिल्ला अदालत मकवानपुरले कारागार पठाएको हो ।

घलानलाई जिल्ला अदालत मकवानपुरले गत जेठ १३ गते कारागार पठाएको थियो । जिल्ला न्यायाधीश धु्रवकुमार पियाको एकल इजलाशले रु २५ हजार धरौटी लिइ उनलाई तारेखमा छोड्न आदेश गरेको भए पनि घलानले सो धरौटी रकम नतिरेपछि कारागार पठाइएको हो ।

त्यसैगरी अदालतले चन्द समूहका मकवानपुरका आर्थिक विभाग प्रमुख सूर्य अर्याल र कार्यकर्ता राजकुमार पाख्रिनलाई पनि हिजो जेठ २६ गते कारागार पठाएको छ । जिल्ला न्यायाधीश षडानन्द तिवारीको एकल इजलाशले उनीहरुलाई रु पाँच/पाँच हजार धरौटी लिइ तारेखमा छोड्न आदेश गरे पनि उनीहरुले सो धरौटी रकम नतिरेपछि कारागार चलान गरिएको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!