बेरोजगार र रोजगारीको सूचना ४/ ४ घन्टामा थाहा पाउने गरी काम गर्दैछौं : श्रममन्त्री विष्ट

Posted on: 24 May, 2019

जेठ १०,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बेरोजगार र रोजगारीको अवसरहरुको जानकारी लिन सकिने गरि रोजगार सूचना प्रणालीको विकास गर्न लागिएको बताएका छन् । संघीय सरकार, ३ नम्बर प्रदेश सरकार, ३ नम्बर प्रदेश भित्रका सबै स्थानीय तह  र रोजगार संयोजकको उपस्थितिमा "प्रधानमन्त्री रोजगार कार्यक्रम" अन्तर्गत त्रिपक्षीय (केन्द्र, प्रदेश र स्थानीय) समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री विष्टले यस्तो बताएका हुन् ।

केहि समय भित्र नै कुन क्षेत्रमा कति कामको अवसर छ,हरेक नागरिकले आँफु बसेको ठाउँबाट हेर्न पाउने गरि सरकारले काम गर्दैछ मन्त्री विष्टले भने "बेरोजगार जनशक्ति र रोजगारीको अवसर कति छ हेर्न सकिने गरि सूचना प्रणाली व्यवस्थित गर्ने काम भैरहेको छ।" बेरोजगारको विवरण र रोजगारीको सूचना हरेक ४/ ४ घन्टामा थाहा पाउने गरी काम गर्दैछौं मन्त्री विष्टले भने "अब हिजोको जस्तो पुरानो डाटाको भरमा काम गर्ने दिन सकिंदैछ सरकारले सोहि अनुरुप प्रक्रिया अगाडी बढाइसकेको छ ।"

शैक्षिक संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको भन्दै अब शिक्षालाई रोजगारीसँग जोड्नु चुनौती रहेको मन्त्री विष्टले बताए । संघीय सरकारले आगामी आर्थिक वर्षबाट हरेक स्थानीय तहलाई प्राविधिक जनशक्ति समेत प्रदान गर्ने योजना रहेको मन्त्री विष्टले बताए । आगामी वर्षबाट नै उत्कृष्ट कार्य गर्ने स्थानीय तह र रोजगार संयोजकलाई पुरष्कृत गर्ने सरकारले तयारी गरेको मन्त्री विष्टले बताए। आउँदो आर्थिक वर्षमा थप ५ लाख जनशक्तिले देशभित्र नै रोजगारी पाउने गरी सरकारले काम गरिरहेको उनले बताए।

इतिहासमै पहिलो पटक सरकारले रोजगारीलाई प्राथमिकता दिएको मन्त्री विष्टले दावी गरे । "अब कामको अभावमा कोहि पनि गरिब रहन सक्दैन, गरिबीको जिन्दकी माथि उठाउन नै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ।" मन्त्री विष्टले भने ।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई आफ्ना स्थानीय तह मार्फत अधिकतम रोजगारी सृजना हुनेगरी काम गर्न पनि मन्त्री विष्टले आग्रह गरे । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यसवर्ष बेरोजगार युवालाई बढीमा ३० दिनको रोजगारी ग्यारेन्टी गर्ने गरी हरेक स्थानीय तहलाई केन्द्रबाट बजेट पठाइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!