कुलमानलाई भ्रष्टाचारको आरोप !

Posted on: 21 May, 2019

जेठ ७, काठमाण्डौ | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडीङ हटाएर निकै राम्रो काम गरेको भन्दै चौतर्फी प्रशंशा पाईरहेको बेला नेकपाका सांसद अमनलाल मोदीले भने उनलाई भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।  

मोदीले संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा लोडसेडिङ अन्त्य गरेको घुम्टो ओडेर कुलमानले भ्रष्टाचार गरिरहेको आरोप लगाएका हुन् । कुलमानविरुद्ध बोल्दै मोदीले लोडसेडिङ अन्त्य गरेको जस लिँदै संस्थाभित्र भ्रष्टाचार गरेको आरोप लगाए । 

माथिको तश्वीरमा: संघीय संसद, प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सिंहदबारमा बस्दै । तस्वीर: रोशन सापकोटा,रासस

मोदीले २५ मेगावाटको सोलार प्लान्ट र  कोशी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टाचार गरेको उनको भनाई छ । आफ्ना विद्युत गृहबाट विद्युत उत्पादन नगरी कमिसन खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको मोदीले लगाएको आरोपमा भनिएको छ । 

मोदीले कुलमानको दम्भ बढ्दै गएको भन्दै प्रधानमन्त्रीले पनि गर्न नसक्ने त्रिशूली ३ बी हब सबस्टेसनमा अवरोध गरेको बताए । 

मोदीले यस्तो आरोप लगाउँदै गर्दा संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमै थिए कुलमान घिसिङ ।  उनले मोदीले लगाएको आरोप पुष्टि गर्न चेतावनी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!