नेतृत्वविहीन ‘नेपाल विद्यार्थी सङ्घ’

Posted on: 22 Mar, 2019

अच्युत रेग्मी | चैत ८, काठमाडौँ | नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ । 

नेविसङ्घ को ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले राजीनामा दिइसकेको अवस्थामा पनि तदर्थ समिति गठन नहुँदा नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको छ । 

नेपाली काङ्ग्रेसका प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसङ्घको विसं २०७३ साउनमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले विसं २०७५ माघमा राजीनामा दिएसँगै नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको हो । नेपाली काङ्ग्रेसको नर्सरीका रुपमा रहेको नेविसङ्घमा अहिले अध्यक्ष नहुँदा १२औँ महाधिवेशनसमेत अन्योलमा परेको छ । 

मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको नेविसङ्घको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ । विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको नेविसङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गर्नुभयो । नेविसङ्घको पहिलो अध्यक्ष विपिन कोइराला हुनुहुन्छ । 

स्थापनाकालदेखि हालसम्म आइपुग्दा छ अध्यक्ष निर्वाचित, सात अध्यक्ष तदर्थ र पाँच अध्यक्ष सर्वसम्मत नेतृत्व लिएको पाइन्छ । नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ निर्वाचित केन्द्रीय समितिले समयमा अधिवेशन गर्न नसक्दा अहिलेको अवस्था आएको बताउनुहुन्छ । “पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ । 

नेविसङ्घ निवर्तमान केन्द्रीय सदस्य सुनिता पोखरेल पार्टीले निर्माण गर्न लागेको नेविसङ्घको तदर्थ समितिको नेतृत्व महिलाले पाउनुपर्ने बताउनुहुन्छ । “नेविसङ्घमा अहिलेसम्म धेरै पुरुष नेतृत्वमा पुगेका छन्, अहिले महिलालाई तदर्थ समितिको अध्यक्ष बनाएर महाधिवेशनमा जानुपर्छ”, उहाँ भन्नुहुन्छ । नेविसङ्घका निवर्तमान कोषाध्यक्ष शिव रिमाल पार्टीले ३२ वर्ष कम उमेरका विद्यार्थीलाई अध्यक्ष बनाएर तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताउनुहुन्छ । “विधानमा उल्लेख भएअनुसार तत्काल समिति बनाएर केन्द्रीय महाधिवेशनमा नेविसङ्घ जानुपर्छ”, उहाँ भन्नुहुन्छ । 

वर्तमान नेतृत्वले आम विद्यार्थीमाझ शैक्षिक मुद्दा लिएर जान नसक्नु र विद्यार्थीलाई निराश पार्ने प्रवृत्तिको काम गरेको उहाँको भनाइ छ । नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी मुलुकको लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी यो अवस्थामा आइपुग्नु दुःखद् भएको बताउनुहुन्छ । 

“हाम्रै कार्यसमिति निर्वाचन गराउन सक्षम थियो, तर अध्यक्षले कसैसँग छलफल नगरी राजीनामा दिँदा यो अवस्थामा आएको हो”, उहाँ भन्नुहुन्छ । पार्टीका नेताको गैर जिम्मेवारीपनका कारण तदर्थ समिति गठन हुन नसकेको उहाँको भनाइ छ । नेविसङ्घका पूर्वअध्यक्ष रञ्जीत कर्ण पार्टीले तत्काल तदर्थ समिति बनाएर छ महीनाभित्र महाधिवेशन गराईसक्नुपर्ने बताउनुहुन्छ । “वडा, स्थानीय, जिल्ला प्रदेश र केन्द्रको निर्वाचनको कार्यतालिका र कार्ययोजना बनाएर नेविसङ्घको महाधिवेशन तत्काल गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ । 

नेविसङ्घको ४८ वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन नेविसङ्घका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो भने अरु अध्यक्षले समयमा अधिवेशन गर्न सक्नुभएन । 

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुभएको छ । 

यस्तै विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचनबाट जितेर अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सक्नुभएन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी नेविसङ्घको महाधिवेशन समयमा हुन नसक्नु नेविसङ्घ र पार्टी नेतृत्वको कमजोरी भएको बताउनुहुन्छ । “पार्टीले तत्काल तदर्थ समिति बनाएर निर्वाचनको वातावरण निर्माणमा लाग्नुपर्छ”, उहाँ भन्नुहुन्छ । विद्यार्थीबीच लोकप्रिय सङ्गठन बनाउने व्यक्तिलाई तदर्थ समितिको नेतृत्व दिनुपर्ने उहाँको भनाइ थियो । 

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसङ्घभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउनुहुन्छ । “विधान र प्रक्रियाअनुसार नै नेविसङ्घको तदर्थ समिति बन्छ”, उहाँ भन्नुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!