प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कार्वाही गर्न सिफारिश

Posted on: 21 Mar, 2019

सिवी अधिकारी | चैत ७, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ । 

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई विभागीय कार्वाही गर्न सिफारिश गरेको हो । 

भिभिआइपी चढेको जहाज आकाशमा आधा घण्टा होल्ड भएपछि अनुसन्धान गर्न सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । गत फागुन २१ गते प्रधानमन्त्री ओली सवार यति एयरलाइन्सको जहाज चन्द्रगढी विमानस्थलबाट काठमाडौँ अवतरणका क्रममा होल्ड भएको थियो । 

समितिले चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख र विमानस्थलका टावर कन्ट्रोलर विभागीय कार्वाही गर्न क्यानलाई लेखी पठाउने तथा यती एयरलाइन्सका ग्राउण्ड ह्याण्डलिङ म्यानेजर र फ्लाइट डिपार्चरलाई ड्युटीमा लापरवाही गरेका कारण विभागीय कार्वाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिने सिफारिश गरेको छ । 

चन्द्रगढी विमानस्थलस्थित यती एयरलाइन्सका फ्लाइट डिपार्चरलाई भिभिआइपी सवार हुने उडान तय भएको व्यहोरा फ्लाइट प्लानमा नजनाई टावरमा पेश गरेकामा निजलाई विभागीय कार्वाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिने जनाएको छ । 

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच कन्ट्रोलमा भिभिआइपी सवार उडान ह्याण्डिल गर्ने ड्युटी कन्ट्रोलर, सुपरभाइजर र कोअर्डिनेटरलाई सचेत गराई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एनेक्स १ पर्सनल लिसिनिङमा भएको व्यवस्थाअनुसार स्वास्थ्य परीक्षण गराई श्रवण क्षमता यकिन गरेर मात्र काममा लगाउन क्यानलाई लेखी पठाउने सिफारिश गरेको छ । यती एयरलाइन्स उडान नं एनवाइटी ९२६ का चालकलाई फ्लाइट प्लान रुजु नगरेको र आफूले उडान भरेको वायुयानमा भिभिआइपी चढेको व्यहोरा सम्बन्धित एटिएस युनिटलाई जानकारी भए÷नभएको यकिन नगरेका कारण सचेत गराउन यती एयरलाइन्सलाई निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख छ । 

समितिका संयोजक सुरेश आचार्यले एयरलाइन्स कम्पनी र चन्द्रगढी विमानस्थलका एटिसीले अतिविशिष्ट व्यक्तिको उडानबारे संवेदनशील नभएको र विमान चालक पाइलटले समेत काठमाडौँ विमानस्थल टावरलाई सही सूचना नदिएकाले जहाज होल्ड भएको अनुसन्धानका क्रममा खुलेको उल्लेख गर्नुभयो । उहाँले घटनामा संलग्न दोषीलाई कार्वाही गर्न र आगामी दिनमा यस्ता गतिविधि सुधार्न तथा अतिविशिष्ट व्यक्तिको उडानमा सुरक्षालाई मध्यनजर गर्दै बेलैमा जानकारी गराउन नेपाल प्रहरीलाई समेत सचेत गराइने बताउनुभयो । 

यस्तै छानबिन समितिले यती एयरलाइन्सलगायत सबै वायुसेवा कम्पनीले आ–आफ्नो फ्लाइट प्रोग्राम र फ्लाइट प्लानमा भिभिआइपीले उडान गर्ने भए अनिवार्यरुपमा जानकारी दिन सुझाव दिएका छन् । 

प्रस्थान गर्ने विमानस्थलको एटिएस युनिटले पनि गन्तव्य विमानस्थलको एटिएस युनिटमा रेडियो सम्पर्क वा अन्य विद्युतीय माध्यमबाट भिभिआइपीले उडान गर्ने भए अनिवार्य रुपमा सम्प्रेषण गर्नुपर्ने र फ्लाइट कार्यक्रम तथा फ्लाइट प्लान बुझाउने व्यवस्था नभएका विमानस्थलमा भिभिआइपी सवार उडान हुने भए चालक दलले रेडियो सञ्चारमार्फत सो व्यहोरा सम्बन्धित एटिएस युनिटलाई अनिवार्य रुपमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!