स्वतन्त्रताको सीमा हुँदैन: मन्त्री बाँस्कोटा

Posted on: 22 Feb, 2019

फागुन १०, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । 

सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताउनुभयो । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गर्नुभयो । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको बताउनुभयो । 

सैद्धान्तिक छलफललका क्रममा सांसद डिला सङ्ग्रौला, महेश बस्नेत, योगेश भट्टराई, खगराज अधिकारी, विमला विक, रेणुका गुरुङ र सूर्य पाठकलगायतले बोल्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिनुहँुदै मन्त्री बाँस्कोटाले विधेयकमा कही कतै साइबर संसारलाई प्रतिबन्ध गर्ने शब्द उल्लेख नभएको सदनलाई जानकारी दिनुभयो । 

“सबैलाई थाहा छ, स्वतन्त्रताको सीमा हुँदैन, तर सबैलाई यो पनि थाहा छ, मर्यादाको सीमा हुन्छ, त्यो नाघ्न मिल्दैन,”–मन्त्री बाँस्कोटाले भन्नुभयो । त्यसैगरी आजै “सङ्घीय निजामति सेवा विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । सदनमा सो विधेयक सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १४ गते ११ बजे बस्नेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!