साङ्गठनिक एकीकरणको जिम्मा सचिवालयलाई

Posted on: 22 Feb, 2019

फागुन १०, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहको साङ्गठनिक एकीकरण अब सचिवालय बैठकले नै टुङ्गो लगाउने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवायल बैठकले अहिलेसम्म कार्यदलले गरेको साङ्गठनिक एकताको कामका लागि धन्यवाद दिँदै एकताको बाँकी काम सचिवालयले गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । गत पुस १३ गते सम्पन्न स्थायी कमिटीको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय साङ्गठनिक एकीकरण गर्न कार्यदल गठन गरेकोे थियो । 

उक्त कार्यदललाई पुस मसान्तभित्र साङ्गठनिक एकीरणको प्रतिवेदन बुझाउने भने तापनि फागुन ६ गते अपूरो प्रतिवेदन बुझाएको थियो । कार्यदलले अपूरो प्रतिवेदन बुझाएपछि सचिवालय बैठकले आफैँ साङ्गठनिक एकीकरणको प्रस्ताव सचिवालयले नै तयारी गर्ने भएको हो । 

“कार्यदलले आफ्नो प्रतिवेदन पेश गरिसकेपछि अब बाँकी रहेको काम सचिवालयले नै गर्नेछ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “यसरी तयार गरिएको साङ्गठनिक एकताको प्रस्ताव स्थायी कमिटीमा पेश गर्नेछ ।”गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन । 

अहिलेसम्म जनवर्गीय सङ्गठनअन्र्तगत निर्माण व्यवसायी, कानून व्यवसायी र इञ्जिनीयरको मात्र एकीकरण भएको छ । पार्टी एकता भएको तीन महीनामा सबै तल्लो तहको एकता गर्ने भनिएकोमा अहिलेसम्म हुन नसक्दा पार्टी एकता लम्बिँदै गएको छ । एकीकरण लम्बिँदै जाँदा फागुन र चैत महीनामा पार्टी एकतालाई अझ बलियो बनाउनका लागि राष्ट्रिय अभियानसमेत सञ्चालन गर्ने भनिएको अभियानसमेत पछि धकेलिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!